• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, News, Politics » सोनीसलाई विश्वले चिन्यो-अन्धा आफ्नै सरकारले चिनेन
सोनीसलाई विश्वले चिन्यो-अन्धा आफ्नै सरकारले चिनेन

भूकम्पको २२ घन्टापछि आफ्नै घरको भग्नावशेषबाट निकालिएका चार महिनाका सोनिस अवाल विश्वप्रसिद्ध भए। तर, नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसँग घर भत्किएको प्रमाण मागिरहेको छ। प्रमाण नपुग्दा अवाल परिवारले राहत पाउन सकेको छैन। 

माघ १५ काठमाडौं । १२ वैशाख ०७२ मा बारपाक केन्द्र बनाएर आएको भुइँचालोले भक्तपुर दरबार क्षेत्र ध्वस्त बनायो । मूलढोकाछेउमै रहेको श्याम अवालको घर छिनमै धुलो भयो । ट्रकड्राइभर श्याम ड्युटीमै थिए, श्रीमती रश्मिला पसल गएकी थिइन्। नौ वर्षकी सोनिया र चार महिनाका सोनिस भग्नावशेषमा पुरिए। दुई घन्टापछि सोनियाको उद्धार भयो, तर २२ घन्टासम्म घरको भग्नावशेषभित्र पुरिएका सोनिसको जीवितै उद्धार भयो। अवाल परिवारको खुसीमा विश्व नै चकित भयो। तर, दुर्भाग्य ! नक्कली भूकम्पपीडितलाई रकम दिने सरकारले अवाल परिवारसाग घर भत्किएको प्रमाण मागिरहेको छ। प्रमाण जुटाउन नसक्दा अवाल परिवारले राहत पाउन सकेको छैन । 

‘भूकम्पले घर ध्वस्तै भयो। बनाउन पैसा छैन। डेरामा छौँ। तर, खर्च कसरी चलाउने ? भूकम्पपीडितका नाममा सबैले राहत पाए । तर, हामीले पाएनौँ,’ भक्तपुर ब्यासीको महाकालीस्थानस्थित साँघुरो कोठामा भेटिएकी सोनिसकी आमा रश्मिलाले भनिन्। सरकारले माग्यो लालपुर्जा, तर अवाल परिवारसँग छैन सरकारले लालपुर्जाकै आधारमा भूकम्पपीडित परिचयपत्र दिने गरेको छ। लालपुर्जा नभएपछि उनीहरूको घर थियो भन्ने नै प्रमाण जुटेन। घर थियो भन्ने प्रमाण नभएपछि भत्कियो भनेर राहत दिन नमिल्ने स्थानीय प्रशासनको जिकिर छ । यत्रो प्राकृतिक विपत्तिमा परेको परिवारको घर भत्किएको देख्दादेख्दै पनि सरकारले लालपुर्जालाई मात्र आधार बनाउन खोजेको छ । 

‘लालपुर्जा भएकालाई मात्रै परिचयपत्र दिने रहेछ । हामीसँग पुर्जा नै छैन । पुस्तौँ बित्यो यही ठाउँमा बसेको । तर, बाउबाजे कसैले पनि पुर्जा बनाएका थिएनन् । त्यसको मारमा हामी पर्‍यौँ । अब के गर्ने केही थाहा छैन,’ रश्मिलाले भनिन् । नक्कली पीडितले पाए, सक्कलीको बेहाल सरकारले भूकम्पपीडित परिचयपत्रका आधारमा प्रत्येक परिवारलाई पहिलो चरणमा १५–१५ हजार वितरण गरिसकेको छ भने न्यानो राहत भन्दै दोस्रो चरणमा १०–१० हजार बााडिरहेको छ । 

तर, भूकम्पपीडितको परिचयपत्र नभएकाले अवाल परिवारले राहत पाएन । वास्तविक पीडितभन्दा पनि नक्कली पीडितहरूले सरकारी राहत पाएको भेटिएको छ । तर, अवाल परिवार भने वञ्चित छ । ‘भूकम्प गएको १० महिना बितिसक्यो । तर, हामीसँग परिचयपत्र छैन । परिचयपत्र भएकालाई मात्रै राहत दिने रहेछ। हामीसँग नभएकाले पाएनौँ । नक्कली भूकम्पपीडितले समेत राहत लिएको मैले देखेँ । हामी वास्तविक पीडितले नपाउँदा साह्रै दु:ख लागेको छ,’ रश्मिलाले भनिन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ।

Labels: Articles, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State