काठमाडौं- दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म 'कोहिनूर' भित्र अटाएको 'के म तिम्रो होइन र? कोहिनूर! ' बोलको गीत हिट भएको थियो। गीत हिट भएपछि श्रीकृष्णले यही गीत भित्र रहेको 'के म तिम्रो होइन र' शब्द टिपेर अर्को फिल्म बनाउन चाहेको खबर बाहिरिएको थियो। तर 'कोहिनूर' प्रदर्शन भएको दोस्रो दिन नै श्रीकृष्णको उपचारको क्रममा निधन भयो। श्रीकृष्णको चाहना अधुरै रह्यो तर 'कोहिनूर' निर्देशन गरेको आकाश अधिकारीले श्रीकृष्णले बनाउन चाहेकै नाममा सोमबारबाट फिल्मको सुटिङ थालेका छन्।
सोमबार कलंकीस्थित सिटी सेन्टर हस्पिटलमा मुहुर्त गर्दै आकाशले फिल्मको सुटिङ थालेका हुन्। मुहुर्त समारोहको निर्देशन नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठले गरेका थिए भने अभिनेता शिव श्रेष्ठले नरिवल फोडेका थिए। यस्तै वितरक प्रदिप कुमार उदयले क्यामेराको स्विच अन गरेर गरेको शुभसाइत समारोहमा प्रमुख अतिथी देवेन्द्रराज कँडेलले क्ल्याप हानेका थिए।
यसअघि १३ वटा फिल्म निर्देशन गरिसकेका निर्देशक आकाश अधिकारीको यो १४औं फिल्म हो। उनले फिल्मलाई प्रेमकथाको रुपमा व्याख्या गरे। 'नामैले पनि यो प्रेम कथा हो भन्ने बुझिन्छ। तर यसमा हामीले नयाँ पुस्ताको प्रेमलाई रोचक प्रस्तुति मार्फत् देखाउनेछौं,' आकाशले भने। फिल्मलाई अधिकारी ब्रदस र द स्काई मुभिज मिलेर बनाउन लागेका हुन्। सुरेश अधिकारीले फिल्ममा लगानी गरेका छन्।
फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, आर्यन अधिकारी, मरिष्का पोखरेल ,आकाश खवास, प्रज्वल गिरी, सविना गोपाली, सुरेन्द्र बसेल, रमेश अधिकारी, रीया श्रेष्ठ, विनोद केसी आदिको अभिनय रहेको छ।
फिल्ममा दिनेश वान्तवाको मुख्य सहायक छायांकन, हिमाल केसीको द्वन्द्व, रेनशा वान्तवा राईको नृत्य निर्देशन, दिनेश लामाको कला निर्देशन र इश्वर श्रेष्ठको मेकअप रहनेछ।
फिल्ममा बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत, आकाश अधिकारी, डाक्टर कृष्णहरी बराल र सुन्दर श्रेष्ठको गीत, उदित नारायण झा, राजेशपायल राई, अञ्जु पन्त, प्रमोद खरेल, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना र दुर्गा दाहालको आवाज रहेको छ।
आकाशको 'के म तिम्रो होइन र?'


0 comments
Write Down Your Responses