चीनकाे डान्स बारमा काम गर्न हिँडेका १७८चेलीबेटी तातोपानी नाकाबाट फिर्ता
चौतारा-माइती नेपालले तातोपानी हुँदै चीनको खासास्थित डान्सबारमा काम गर्न हिँडेका ७८ बालबालिकासहित १७८ चेलीलाई नाकाबाटै फर्काएको छ। मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिइएको चीनको तिब्बतस्थित खासामा हुने सम्भावित बेचबिखनबाट जोगाउन उनीहरुलाई फर्काइएको हो । तथ्याङ्कअनुसार तीमध्ये सिन्धुपाल्चोकका ६५ र अन्यन्त्रका १३५ जना छन्।
खासामा हुने मानव बेचबिखन रोकथामका लागि माइती नेपाल सन् २०१२ देखि सक्रिय छ । तथ्याङ्कअनुसार तातोपानीमा कार्यालय स्थापना गरी हालसम्म नेपालले १७८ चेलीलाई सम्भावित बेचबिखनबाट जोगाएको हो । माइती नेपालले एक कार्यक्रम मार्फत सो जानकारी दिएको हो ।
खासामा हुने बेचबिखन नियन्त्रण गर्न लागिपरेको माइती नेपालले नेपाल–चीन सीमामा परामर्श दिने क्रममा खासाबारे अनभिज्ञ पाइएकाले उनीहरुलाई फर्काएको जनाइएको छ । परामर्शका क्रममा जोखिममा रहेका केही चेलीलाई परिवारको जिम्मा लगाइएको छ ।
सो संस्थाका अनुसार चीनको खासास्थित रेस्टुराँ तथा घरमा काम गर्न नेपाली चेली र बालबालिका लैजाने गरिन्छ । विशेष गरी चीनसँग सीमा जोडिएको मार्मिङका बालबालिका खासा जाने गरेको माइती नेपाल सिन्धुपाल्चोक कार्यक्रम संयोजक पवित्रा घिमिरेले बताइन्।
खासा बजारलाई मानव बेचबिखनको नयाँ गन्तव्यका रुपमा लिन थालिएपछि बेचबिखन न्यूनीकरणका लागि माइती नेपाल सीमा नाकामा सक्रिय छ ।
पछिल्लो समय खासाका डान्सबारमा नेपाली बालबालिका पनि बेचिन थालेको पाइएपछि सो संस्थाले एक वर्षदेखि बालबालिकालाई समेत परामर्श दिन थालेको छ । नाकामा रहेर परामर्शका क्रममा १५ देखि ४५ उमेरसमूहका चेलीलाई सीमानाकामा सोधपुछपछि मात्र चीन प्रवेशका लागि अनुमति दिने गरिएको छ ।
विसं २०६८ वैशाखमा माइती नेपालले गरेको स्थलगत अध्ययनका क्रममा खासाका डान्सबारमा नेपाली चेलीहरु अवैध धन्दामा संलग्न रहेको पाएको थियो । घिमिरेले खासाको अवस्थाबारे नबुझेका चेलीहरु त्यहाँ बेचबिखनमा पर्न सक्ने सम्भावना बढी भएकाले फर्काइएको बताइन। खासामा काम गर्न जाने विशेष गरेर विकट गाउँका अशिक्षित, अभिभावक नभएका र आर्थिक अवस्था कमजोर भएकाहरु रहने गरेका छन् ।
खासामा नेपाली चेलीलाई सुरुमा 'वेटर' राख्ने र पछि रेस्टुराँ मालिकले यौन क्रियाकलापमा संलग्न गराउने गरेको स्रोतको जिकिर छ । खासामा काम गर्न भनेर सिन्धुपाल्चोकका साथै मकवानपुर, कास्की, ललितपुर र चितवनका चेली जाने गर्छन् । रासस


0 comments
Write Down Your Responses