मोर्चासँग सहमति र नाकाबन्दी खोल्न किन सहमति भएन ? गोप्य कुरा प्रचण्डले भने(भिडियो सहित)
काठमाडौं, ८ पुष । प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग शब्दमा विवाद रहेको जानकारी दिएका छन् ।
हालै पार्टीको सम्पन्न केन्द्रीय समिति बैठक निर्णय सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिषडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पूर्वका पाँच जिल्ला र पश्चिमका दुई जिल्लालाई ‘विवादित जिल्ला’ भनेर उल्लेख गर्ने कि नगर्ने भन्नेमा विवाद रहेको बताए । प्रचण्डका अनुसार मोर्चाले विवादीत जिल्ला उल्लेख गर्नुपर्ने अडान लिएको छ ।
सो पाँच जिल्लामा विवादै नभएको तर्क सत्तारुढ र प्रमुख प्रतिपक्ष दलले तर्क राखेकोमा मोर्चाले असन्तुष्टि जनाएको प्रचण्डले जानकारी दिए । प्रमुख तीन दलले सीमांकनका विवाद हल गर्नका लागि राजनीतिक संयन्त्र मार्फत तीन महिना भित्रै टुंगाउने गरेको प्रस्तावमा मधेशी मोर्चाले तीन महिना भित्र सीमांकन विवाद टुंगिने सुनिश्चित बारे प्रश्न उब्जाएको उनको भनाइ छ ।
मोर्चाले सीमांकन हेरफेरको सबै कुरामा सुनिश्चित खोजेको भन्दै प्रचण्डले भने, ‘सीमांकल हेरफेर गर्दा पछि कुन जिल्ला कतातिर पर्छ अहिल्यै भन्न सकिन्न ।’
यस्तै नयाँ संविधान विश्वकै उत्कृष्ट रहेको दावी गरेका उनले संविधानमा समेटिएका लगायत विषयबस्तुमा एकरुपता नआउँदा वैद्य माओवादीसँगको एकता अन्यौल बनेको बताए । भारतीय नाकाबन्दी खुलाउन आफ्नो पार्टी संयन्त्र सहित राज्यका निकायहरुले पहल गरिरहेको प्रचण्डको भनाइ छ ।
गएको मंसिर १५ गतेदेखि पुष ७ गतेसम्म पार्टी केन्द्रीय कार्यालयमा चलेको समितिको बैठकले पारित गरेको प्रतिवेदनले डा. बाबुराम भट्टराईको पार्टी परित्यागका पछाडि रहेको वैचारिक, राजनीतिक प्रवृत्तिलाई दक्षिणपन्थी विसर्जनवाद र अराजकतावादी व्यक्तिवादका रुपमा संश्लेषण गरिएको पत्रकार सम्मेलनमा वितरण गरिएको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतीय नाकाबन्दीको विरोध विरोध गर्दै बैठकले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधन सहित पारित गरेको छ । बैठकले राज्य समिति विघटन गर्दै नयाँ संविधानको व्यवस्था अनुसार सात प्रादेशिक समिति बनाउने निर्णय गरेको छ ।
साथै पार्टीको सिद्धान्त अनुशासन र पद्दति उल्लंघन गरेको भन्दै नयाँ शक्ति निर्माणमा लागेकाहरुलाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ । साथै उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीले पार्टी सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको बैठकले रिक्त ४ सदस्यमा पदपूर्ति गरेको छ । भिडियो : खिलराज बिमली मेडिया एनपी


0 comments
Write Down Your Responses