• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Latest Updates, News » रातभर माटो पछार्दा हजारको नोट : नाकाबन्दीमा लिलालाई हिलोमै सबथोक
रातभर माटो पछार्दा हजारको नोट : नाकाबन्दीमा लिलालाई हिलोमै सबथोक

काठमाडौं, पुस २ - हातखुट्टा, नाकमुख सबै छोपिनेगरी डम्म लुगा लगाएपनि लुगलुग बनाउने पुसको चिसो । पारिलो घाममै बस्दा त न्यानो हुन्न भने साँझबिहान र राती घरबाहिर निस्कन खोज्दा झन ठूलै आँट चाहिन्छ । बाहिरफेर निस्कन र पानी छुन समेत हतपती आँट नआउने योबेला सिन्धुलीका लिला जीउमा भएको पातलो लुगा समेत मास्तिर सारेर हिलो खेलिरहनुभएको छ । 
असार साउनको बेला रोपाईं गर्ने खेतमा यसरी हिलो खेल्दा रमाइलै हुन्छ । तर पुसमा गजगज हिलोमा टेकेर यता र उता गर्न सक्नु चानचुने कुरो होइन । देख्नेलाई समेत मुटु सिरिंग हुनेगरी हेलोमा खेल्नु लिलाको आफ्नै बाध्यता र दैनिकी हो । 'नाकाबन्दीका कारण अरु काम पाइन छोड्यो, यही हिलो खेल्ने काम गरेर गुजारा चलाउन परेको छ' लिलाले भन्नुभयो । उहाँले यसरी हिलो मुछेको ईंटा बनाउनको लागि हो । दिनभर हिलो मुछेर राखेपछि मध्यरातमै उठेर ईंटा बनाउनुपर्छ । 'दिउँसो हावा लाग्ने भएकाले ईंटा बनाउन राख्ने पाँगोको धुलो उडाएर जिउभरी हुन्छ, त्यसैले राती उठेर बनाउने गर्छौं' लिलाले भन्नुभयो । उहाँलाई श्रीमती लक्ष्मी र छोराछोरीले पनि सघाउँछन् । छोराछोरी दिउँसो स्कुल जान्छन् र बिहान बेलुका हिलो र ईंटासँगै खेल्छन् । श्रीमान श्रीमती रातदिन यही काममा लाग्छन् ।
सिन्धुली घर भएका लिला घिमिरेले नजानेको काम केही पनि छैन । खेतीपाती त कसैले सिकाउनु परेन । बाबुबाजेले गरेको देखेरै जानियो । दुईचार ठाउँ घुमेपछि गाडी चलाउन मन लाग्यो । एक दुई वर्ष खलाँसी काम गरेपछि स्टेरिंग समाउन पनि जानियो । केही वर्ष गाडी चलाएरै गुजारा गर्नुभयो लिलाले । तर गाडी चलाएर भनेको जस्तो भएन । त्यसपछि उहाँ मिस्त्री काममा लाग्नुभयो । आफैंले घर निर्माणको ठेक्का लिने र गाह्रो प्लास्टरको काम सबै आफैं गर्ने । अरुको घर बनाउने काममा लागेकै बेला भूकम्पले आफ्नो घर पनि चर्कायो ।
आफ्नो घर मर्मतमा लाग्दा बिहान बेलुका छाक टार्न समस्या हुने भएकाले घर चर्केपनि उहाँ अरुकै काममा व्यस्त हुनुभयो । यही कामले जेनतेन गुजारा चल्दैथियो, त्यहीबेला नाकाबन्दी सुरु भयो । नाकाबन्दीले निर्माण सामग्री ढुवानी हुन छाडेपछि घर बनाउने काम पनि बन्द भयो । त्यसपछि लिलाले अर्को काम खोज्नुपर्यो । धेरै काममा रुची भएका उहाँलाई ईंटा बनाउने काम पनि आउँथ्यो । नाकाबन्दीले घरको काम बन्द भएसँगै ईंटा बनाउने काम खुलेकाले उहाँको पाइला यता मोडियो । काठमाडौंमा पहिलेदेखि नै सँगै बस्ने श्रीमती र छोराछोरीको साथमा उहाँले अहिले कीर्तिपुर नजिकैको एउटा ईंटा भट्टामा काम गर्न थाल्नुभएको हो ।
दिनभर माटो मुछेर ठीक्क पारेपछि मध्यरातमा उठेर ईंटा बनाउने काम सुरु हुन्छ । शीत र तुषारो परेपनि कामको तालमा लाग्दा खासै चिसो नहुने उहाँको भनाई छ । एउटा ईंटा बनाउँदा झण्डै एक रुपैंया आउँछ । उहाँ र श्रीमतीले एकरातमा एकहजार भन्दा बढी ईंटा बनाउनुहुन्छ । यस हिसाबले एक दिनमा हजार रुपैंया सजिलै कमाई हुन्छ । कहिलेकाहीँ त दुई हजारसम्म ईंटा बनाउन सकिने उहाँले बताउनुभयो ।
'नाकाबन्दी खुले पनि नखुलेपनि अब ६ महिनालाई यहीँ ढुक्क छ', माटो मुछ्दै गरेका लिलाले भन्नुभयो ।
प्रस्तुति : मिलन तिमिल्सिना /उज्यालो

Labels: Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State