• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health, Latest Updates » अधकल्चो मासुले ज्यान जान सक्छ, होशियार
अधकल्चो मासुले ज्यान जान सक्छ, होशियार


पुस ८, काठमाडौं, ट्राइकोनोसिस पशुपन्छीबाट मानिसमा सर्ने रोग हो । हाम्रा केही समुदायमा सुँगुर, बंगुर तथा बँदेलको मासु उसिनेर, साँधेर खाने प्रचलन छ । यी जनावर यस परजीवीबाट प्रभावित भएका रहेछन् भने यो रोग लाग्न सक्छ । घरपालुवा सुँगुर, बंगुर तथा जंगलमा विचरण गर्मे बँदेल यो परजीवीको आश्रय स्थल हो । अझ होटल, रेस्टुरेन्ट अनि पार्टी प्यालेसको रछ्यान नै सहरी बंगुरको मुख्य आहार भएका बेला आम उपभोक्ता कति जोखिममा होलान् ? अझ वधशाला अनुगमन अनि मासु जाँच त दसैँैमा एकपटक गर्ने चलन छ । 


त्यसैले बंगुरपालनको प्राज्ञिक व्यवस्थापन अनि वधशालाको प्राविधिक सुपरीवेक्षण गर्ने हो भने उपभोक्तामा सुँगुर, बंगुर तथा बँदेलजन्य मासुका परिकारप्रति आत्मविश्वास बढ्ने अवस्था रहन्छ । प्राज्ञिक शब्दमा यसलाई ट्राइकोनेलोेसिस भनिन्छ भने बोलीचालीको भाषामा ट्राइकोनोसिस । जुन पशुपन्छीबाट मानिसमा सर्ने रोग मानिन्छ । पशुपन्छीबाट उपलब्ध मासु अधकल्चो पकाएर खाँदा यो रोग लाग्छ । यो रोग फुच्चे गोल जुका ट्राइकेनेला एस्पाइरालिसको कारण हुन्छ । यस प्रजातिको परजीवीलाई एक्लै सम्बोधन गर्दा ट्राइचिना भनिन्छ । जुन ग्रिक शब्दावलीमा रौँजस्तै भनिन्छ । यो रोगको ब्याधी मासु हाम्रो मौलिक परिकार जस्तो गरी खास गरी सुँगुर, बंगुर तथा बँदेलको मासु राम्ररी पकाएर सेवन गरिने हो भने सजिलै बच्न सकिन्छ । एक अध्ययनअनुसार ७३ प्रतिशत सुँगुर, बंगुर तथा बँदेलजन्य अधकल्चो पाकेको मासु सेवन गर्ने मानिसमा यो रोग पाइएको अभिलेख छ । वर्षेनी १०० देखि १५० मानिसको यस रोगका कारण मृत्यु हुने गरेको छ । 

 प्राकृतिक रुपमा ट्राइकिनोसिसबाट संक्रमित बंगुर प्रजातिमा यसको प्रत्यक्ष लक्षण देखिँदैन । तर अत्यधिक मात्रामा यो परजीवी भेटिएकामा भने पक्षघात हुनुका साथै मुर्छा पर्ने गरेको पाइन्छ । तर मानिसमा यो परजीवीले आन्द्रा छेड्न पुग्यो भने झाडापखाला लाग्नुको साथै पेट दुख्ने हुन सक्छ । बंगुर प्रजातीको अधकल्चो पाकेको मासु सेवन गरेर यी परजीवी मानिसको रक्तसंचार प्रणालीमा प्रवाहित हुन पुगे मानिसमा ज्वरो आउने, अनुहार सुन्निने, आँखावरिपरि सुन्निने, छालामा दरफराएजस्तो हुने, नङको जरामा रक्तश्राव हुने, आँखाको साधारणत सेतो हुने भागमा पनि रक्तश्राव देखिन सक्छ । यस रोगको तीक्ष्ण अवस्थामा भने मुटुको मांसपेशीमा हुने विकृति, मायोर्काडाइटिस, निमोनिया तथा मस्तिष्कमा इन्सेफलाइटिस हुन सक्छ । सबै यी लक्षण एकैपटक देखिन पुगे बिरामीले मृत्युवरण गर्नुपर्ने हुन्छ । 

 सामान्यत पशुपन्छी काटमार गरी मासु तयार पार्दा खसी, वोका तथा राँगा अनि बंगुरका पेट आन्द्रासँगको बोसोमा ससाना पानीका थैलो भेटिनु सामान्य मानिन्छ । त्यो मानवीय प्रयोग वर्जित भएको परापूर्व कालदेखि नै हो । त्यसकै भरमा यसको प्रकोप यकिन गर्न सकिन्न । बंगुर प्रजातिमा यसको भरपर्दो निदानको प्रस्थान विन्दु त व्यवस्थित वधस्थल, वधशाला तथा मासु जाँचको सुनिश्चितता नै हो । हाम्रोजस्तो अव्यवस्थित मासु उद्योग अनि उपभोग श्रृंखलामा यो स्तम्भकार असम्भव देख्छ, आजको स्थितिमा । मानिसमा भने माथि उल्लिखित लक्षण ठ्याक्कै मिले, आँखावरिपरि नपत्याउने गरी सुन्निएको पाइए, नपत्याउने गरी शरीरका मांसपेशी सुन्निएमा, बेला कुबेला ज्वरो आउने अनि पिनासको लक्षण देखिएमा तथा बिरामीले अधकल्चो बंगुर प्रजातिको मासु खाने बानी भएको पाइएमा त्थो महँगो शुल्क तिरी प्रयोगशाला परीक्षण किन गर्नु, गराउनुप¥यो ? वंगुर प्रजातिको अधकल्चो मासु सेवन गरेको तीन–चार हप्तापछि मांसपेशीको नमुना जाँच गरिने हो भने यो रोग भए, नभएको संकेत पाउन सकिन्छ । अझ जनसमुदायको रगत वेन्टोनाइट फलोकुलाटेसन जाँच यो रोगको उत्तम जाँच प्रयोगशाला विधि मानिन्छ । यसले रोग बेलैमा थाहा पाइन्छ । यसबाहेक इलैजा प्रविधिबाट छिटो तथा भरपर्दो निदान गर्न सकिन्छ । अझ वधस्थल, वधशाला अनि मासु जाँच गर्दा बंगुर प्रजातिको मांसपेशीको छड्के जाँच गर्ने हो भने यो रोग लाग्ला भन्ने किन चिन्ता गर्ने ? 

रोकथामको कुरा 

१. बंगुर र बँदेलको मासु खाने रहर भए १६० डिग्री फरेनहाइटमा पकाएर खानुस् । त्यो भन्दा कममा पकाएर खानुभयो र रोग लाग्यो भने नर्सिङ होम नजानुस् । 
२. अव्यवस्थित पशुपन्छी व्यवस्थित वध गर्नुप¥यो । उपभोक्तासम्म पुग्ने सबै पशुपन्छी प्रजातीको मासु, पशुपन्छीको किसिमअनुसार मासु विज्ञानमा विज्ञताप्राप्त पशु चिकित्सकबाट प्रमाणित हुनैप¥यो । 
३. छाडा सुँगुर, बंगुर पालन व्यवस्थित गर्नैपर्छ । 
४. होटल, रेस्टुरेन्ट अनि महानगरपालिकाको फोहोरको डंगुरबाट बटुलेको रछ्यान कि त प्रशोधन वा निषेध गरी व्यवस्थित बंगुर पालन गर्ने व्यवस्था हुनुप¥यो । 
५. सहरी क्षेत्रमा मात्र हैन, ग्रामीण क्षेत्रमा व्यवस्थित शौचालय सञ्चालन हुनुप¥यो ।

Labels: Articles, Health, Latest Updates

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State