• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Health » मृत्युसंगै शुरु भएको डाक्टरहरुको ड्युटी
मृत्युसंगै शुरु भएको डाक्टरहरुको ड्युटी

पुस १५, काठमाडौ, डा समीर लामा, केहि दिन अघि म बिहानको ड्युटी गर्नको लागि आइ सी यु (ICU) पुगेको थिए। आफ्नो साथीबाट ह्यान्ड ओभर लिदैं गर्दा उनले एकजना सिकिस्त विरामीलाई देखाउदै भने-उहाँको डि एन आर (DNR) छ। त्यसको एकैछिनमा उक्त विरामीको मुटुले काम गर्न छोड्यो श्वासप्रश्वास रोकियो, ईसिजी मनिटरले सिधा धर्को देखाउन थाल्यो। र केहि समयपछि विरामीका परिवारलाई बोलाएर मैले विरामीलाई मृत घोषित गरे। उक्त विरामीलाई बचाउनका लागि अघिल्लो लेखमा भनिएको जस्तो सिपीआर किन गरिएन? के हो डि एन आर भनेको? किन गरिन्छ डि एन आर? 

डि एन आर भनेको के हो? 
डि एन आर भनेको Do Not Resuscitate अर्थात रिसस्सिटेसन नगर्नु भन्ने विरामी वा विरामीको निकट परिवारको अनुरोध हो। केहि गरी विरामीको मुटु वा स्वासप्रश्वास बन्द भएमा त्यसको उपचारका लागि गरिने छाती थिच्ने प्रकि्रया, कृत्रिम स्वासप्रश्वासको लागि मुखबाट पाइप हाली स्वासनलीसम्म पुर् याउने (Intubation) आदी रिसस्सिटेसनका विधिहरु गर्नबाट डि एन आर अनुरोधले रोक्छ। तर डि एन आर ले अन्य आवश्यक औषधी उपचारहरु नगर्ने भनेर भन्दैन। डि एन आर भएका विरामीहरुमा पनि एन्टिवायटिक, प्रेशर बढाउनका लागि प्रयोग गरिने औषधीहरु (डोपामीन, डोब्युटामीन), विरामीको पीडा कम गर्न गरिने उपचार (पेलिएटिभ केयर/Palliative care), अन्य नर्सिङ सेवाहरु आदि उपचार भने गर्नुपर्ने हुन्छ। नेपाली कानुनमा यसको बारेमा केहि भनिएको छैन तर विरामी विरामीको परिवार र चिकित्सकहरुको आपसी समझदारीमा यसको प्रयोग गर्ने गरिन्छ। विदेशतिर यसको कानुनी विधि नै हुन्छ र विरामी उक्त निर्णय लिन सक्ने अवस्थामा भएमा विरामीले नभए विरामीको बारेमा निर्णय लिने अधिकार भएको परिवारको नजिकको व्यक्तिले यसबारे निर्णय लिन्छन्। 

किन गरिन्छ डि एन आर अनुरोध? 
विभिन्न कारणहरुले गर्दा सिपीआरपछिको अवस्था पूर्णरुपमा स्वस्थ नहुनसक्छ। उमेर बढी भएर मात्र हैन कि विभिन्न रोगहरुको जटिल अवस्थाका कारण विरामीको अवस्थामा सुधार नहुने स्थितिका कारण, रोग, स्वास्थ्य अवस्थाले विरामीको दैनिक जीवन कष्टप्रद भइरहेको कारण आदीमा डि एन आर अनुरोध गर्ने गरिन्छ। डि एन आर र युथेनेसिया (Euthanasia) भनेका फरक कुराहरु हुन्। डि एन आर ले केहि गरी मुटु वा स्वासप्रश्वास बन्द भएमा सिपीआर विधि नगर्नका लागि अनुरोध गर्छ भने युथेनेसिया वा मर्सी किलिङ (Mercy Killing) भनेको विरामीलाई उसको पीडाबाट छुटकारा दिन केहि औषधी दिएर उसको जीवन अन्त्य गरिदिनु हो। अल्बानिया, बेल्जीयम आदी केहि मुलुकहरुमा मात्रै युथेनेसियाले कानुनी मान्यता पाएको छ। हालसालै रिलिज भएको हिन्दी चलचित्र ‘गुजारिश’ मा दुर्घटनामा परेर चारै हातखुट्टा नचल्ने भएका नायकले युथेनेसिया वा मर्सी किलिङका लागि कानुनी लडाई लड्छन्। 

र अन्त्यमा, 
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हिजो मात्रै मृगौलाले काम गर्न छोडेर अचेत अवस्थामा पुगेको कारण अस्पतालमा भर्ना गरिएको छ। उमेर, रोगहरुको जटिल अवस्था, एक भन्दा बढी रोगहरु आदि कारणले उहाँको स्वास्थ्यमा सुधार आउने सम्भावना कम भएकोले परिवार र चिकित्सकहरुको सल्लाहमा उहाँलाई भेन्टिलेटरमा नराखिने भएको छ। यो एउटा डि एन आर अनुरोध त होइन तर रोगहरुको जटिलता जीवन र मृत्युबीचको लगभग अन्तिम लडाईंमा भएको बेलामा यस्ता निर्णयहरु गर्न निकै गाह्रो हुन्छ। डि एन आर, युथेनेसिया जस्ता कुराहरु स्वास्थ्यसँग मात्र सम्बन्धित नभई कानुनी मानवीय सम्बेदना र धार्मिक आस्थासँग जोडिएका जटिल कुराहरु हुन्। अझ यस सम्बन्धि निश्चित कानुनको अभावमा यस बारे निर्णय लिन धेरै नै गाह्रो हुन्छ। त्यसैले यी कुराहरुलाई कानुनीरुपमा व्याख्या गर्नु जरुरी छ।

Here are situated DNR treatment method in ICU which is wrote by Dr. Samir Lama

डा समीर लामा,को पर्सनल ब्लगबाट 

Labels: Articles, Health

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State