राष्ट्रपति भण्डारीको गाडीमा ढुङ्गामुढा, जानकी मन्दिरमा पेट्रोल बम प्रहार
जनकपुर, १ पुष । तिव्र विरोधका बाबजुद रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आइपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा ढुङ्गा प्रहार भएको छ ।
उनको आगमनको विरोधमा व्यापक प्रदर्शन भइरहेका बेला जानकी मन्दिरमा पूजाआजा गरेर फर्किँदै गर्दा राष्ट्रपति भण्डारीको कारकेडमा संयुक्त लोकतान्त्रिक मधेशी मधेसी मोर्चा सहितका विभिन्न आन्दोलतरत पक्षका कार्यकर्ताहरुले ढुंगामुढा गरेका हुन् । ढुङ्गामुढाबाट कारकेडमा क्षेति नपुगेको बताइएको छ । यस्तै जानकी मन्दिर परिसरमा पनि पेट्रोल बम प्रहार भएको बताइएको छ ।
राष्ट्रपतिको आगमन हुने भएपछि बुधबार बिहानै देखि जनकपुर र यसको आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएका बेला भण्डारीको कोरकेडमा आक्रमण भएको हो । अहिले पनि जनकपुरका विभिन्न ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस समेत प्रहार गरेको छ ।
मंगलबार मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको थियो । आन्दोलनरत पक्षका कार्यकर्ताको प्रदर्शनबाट कुनै अप्रिय घटना हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी जनकपुर बजारमा व्यापक संख्यामा परिचालन गरिएको छ ।



0 comments
Write Down Your Responses