होशियार, थाहै नपाई बिग्रन सक्छ-तपाईको मृगौला
पुस १८, काठमाडौं, राम प्रसाद न्यौपाने, नपत्याइँदो
हिसाबले मान्छेका मृगौलामा समस्या देखिन सक्छन् । जस्तो, सर्लाहीका रामकिशन महतो, ३२ लाई भयो । उनलाई
छिनछिनमा पिसाब लाग्ने समस्या देखियो । अनुहारसमेत सुिनन थालेपछि बल्ल उनी उपचार
गर्न गए । सामान्य जाँचपछि नै चिकित्सकले उनको मृगौला फेल भएको हुनसक्ने अड्कल
काटे । थप परीक्षणपछि परिणाम पनि त्यस्तै आयो । उनलाई चिकित्सकले काठमाडौं शिक्षण
अस्पताल रिफर गरे । अहिले महतोले हप्तामा दुई पटक डाइलसिस गराइरहेका छन् ।
३२
वर्षको उमेरसम्म कुनै शारीरिक लक्षण नदेखिए पनि चिकित्सकले उच्च रक्तचापका कारण
उनको मृगौला फेल भएको बताएका छन् । सामान्य लक्षण देखिए पनि ओछ्यान नपर्दासम्म ‘मलाई केही भएको छैन’ भन्दै ढुक्क हुनेहरू जब
एक्कासी रोगले च्यापेपछि मृगौलाले काम गर्न छोडिसकेको चाल पाउँछन् तब उनीहरूसँग
पछुताउनुको विकल्प रहन्न । जीवनका प्रत्येक दिनलाई पैसासँग साटेर औषधिको भरमा
टिकाउनुपर्ने अवस्था रहन्छ ।
शरीरको
महत्वपूर्ण अङ्ग मृगौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो
भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार । सामान्य परीक्षणले मृगौलाको
अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको सङ्ख्या भने दिनानुदिन
बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मृगौला
सम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई
मृगौला सम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत
अर्थात् दुई लाख ७० हजारको मृगौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार
सात सयको मृगौला पूर्ण रूपमा फेल हुन्छ ।
आधुनिक
जीवनशैली, खानपान, व्यस्तता, तनाव आदिका कारण सृजना हुने
विभिन्न ‘रिस्क
फ्याक्टर’ले
मृगौला फेल हुनेहरूको सङ्ख्या बढाउँदै लगेको हो । योसँगै उपचारको दायरामा आउने
बिरामीको सङ्ख्या पनि थपिँदो छ । शिक्षण अस्पतालकी मृगौला प्रत्यारोपण फिजिसियान
डा. दिव्यसिंह शाहको अनुभवमा पछिल्ला दिनमा खाडी राष्ट्रमा काम गर्न गएका नेपाली
युवाहरू मृगौलाले काम गर्न छाडेर फर्किने क्रम बढ्दो छ ।
खाडी
मुलुकमा शुद्ध पिउने पानीको अभाव र कडा परिश्रम गरे पनि सोअनुसार पर्याप्त पानी
नपिउनाले धेरैको मृगौला फेल हुन्छ । खाडी मुलुकमा कामदारको प्रत्येक वर्ष
स्वास्थ्य जाँच हुने भएकाले यस्तो समस्या पहिचान भएर फर्किने क्रम पनि बढेको शाहको
अनुभव छ । शाह भन्छिन्, ‘ती देशमा
हरियो सागसब्जी भन्दा मासु धेरै सस्तो हुन्छ, म कहाँ आउने बिरामीले दैनिकजसो मासु खाने गरेको बताउँछन् । धेरै मासु
खानु मृगौलाका लागि घातक हो ।’
वीर अस्पतालका मृगौला रोग विशेषज्ञ डा. अनिल बराल हरेक स्वस्थ्य
व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नु स्वस्थकर जीवनशैलीका लागि
महत्वपूर्ण हुने सुझाब दिन्छन् ।
पिसाबमा
प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे गराई समयमै
मृगौला खराब हुन लागेको पहिचान गर्न सके मृगौला फेल हुनबाट बच्न सकिने बताउँछन्
डा. बराल । ‘पहिला
लक्षण देखिन्न र नियमित चेक पनि नगर्ने हो भने त अस्पताल पुग्दा अन्तिम अवस्था
भइसक्छ,’ उनको
भनाइ छ, ‘त्यतिबेला
कि प्रत्यारोपण कि त आजीवन डायलाइसिस मात्र विकल्प बाँकी रहन्छ ।’ मृगौला रोग भएका हुनसक्ने
वा स्वास्थ रहेकाहरूलाई पनि वर्षको एक पटक अनिवार्य रूपमा मृगौला परीक्षण गर्न
सुझाब दिन्छन् अर्का मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले । डा. काफ्ले भन्छन्, ‘करिब तीन सयको खर्चमा समयमै
रोग पहिचान गरी उपचार गराउन सकिन्छ भने किन नगर्ने ?’
मृगौलाको
मुख्य काम शरीरमा रहेका ‘मेटाबोलिजम’बाट उत्पादन हुने विकारहरू
शरीरमा जम्मा हुन नदिई बाहिर फ्याँक्ने हो । त्यस बाहेक मृगौलाले शरीरमा पानी र
लवणको मात्रा मिलाउन, क्याल्सियम
र फोस्फोरसको सन्तुलन कायम राखी हड्डीहरू बलिया बनाउन, मांसपेसी र नसाहरू चल्नका
लागि शरीरमा सोडियम, पोटासियमको
मात्रा मिलाउन, रगत
बनाउने हार्मोन, रक्तचाप
नियन्त्रण र मुटुकै कार्य नियन्त्रण गर्न पनि मृगौलाको महत्वपूर्ण भूमिका हुन्छ ।
मृगौलाले विकारहरूलाई पिसाबको माध्यमबाट फाल्छ भने, लवणहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस जस्ता तत्वलाई
मिलाउने काम गर्दछ । जुन हाम्रो शरीरका प्रत्येक कोषका लागि महत्वपूर्ण छ ।
चिकित्सकहरूका
अनुसार शरीरका दुईवटा मृगौलाले संयुक्त रूपमा दिनभरमा लगभग १८० लिटरभन्दा बढी रगत
फिल्टर गर्ने काम गर्छन् । त्यसमध्ये डेढदेखि दुई लिटर मात्रै पिसाबका रूपमा बाहिर
फाल्ने काम हुन्छ र बाँकी १७८ लिटर रगत तथा पानीले शरीरमै फैलाउँछ । डा. बरालका
अनुसार यो दरमा काम गर्न सकेन भने मृगौलामा समस्या देखिन थाल्यो भनेर बुझ्नुपर्छ ।’ उनी भन्छन्, ‘मृगौलाले रगत छान्दा वा
फिल्टर गर्दा जति विकार उत्पादन हुन्छ उक्त विकार पिसाबका मध्यमबाट बाहिर पठाउने
काम गर्दछ ।’
शरीरमा
हुने भिटामिन ‘डी’लाई क्रियाशील बनाई काम
गर्ने स्वरूपलाई परिवर्तन गर्ने कार्य पनि मृगौलाले गर्दछ । भिटामिन ‘डी’को क्रियाशील रूप भएपछि
शरीरमा क्याल्सियम र फोस्फोरसको सन्तुलन आउँछ । जसले गर्दा हाम्रो शरीरमा भएका
हड्डीहरू बलियो हुनुका साथै शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा नियन्त्रणमा
रहन पुग्छ । सामान्य व्यक्तिको शरीरमा दुईवटा सिमी आकारका करिब १० सेमि लामा
दुईवटा मृगौला मेरुदण्डको दाँया–बाँया
करङमुनि मिलेर बसेका हुन्छन् । वयस्क पुरुषको एउटा मृगौलाको लम्बाइ १० सेमि, मोटाइ ४ सेमि र तौल करिब एक
सय २५ देखि एक सय ७० ग्रामसम्म हुन्छ ।
महिलाहरूको
मृगौला तुलनात्मक रूपमा सानोे हुन्छ । चिकित्सकहरूका अनुसार मृगौलामा समस्या
देखिने मुख्यतः दुई कारण छन् । एउटा मृगौला आफैँभित्रको समस्या र अर्को शरीरका
अन्य अङ्गमा लागेका रोगहरूका कारण । राष्ट्रिय मृगौला उपचार केन्द्रका निर्देशक
समेत रहेका डा. काफ्ले भन्छन्,
‘मधुमेह, उच्च
रक्तचाप, मुटु, कलेजो, बिग्रेको अवस्थामा पनि
मृगौलामा असर गर्न सक्ने सम्भावना रहन्छ,’ उनले थपे, ‘त्यस्तै
मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल
समस्याले पनि मृगौला बिगार्न सक्छ । ग्लोमरुलोनेफ्राइटिस्, पोलिसिस्टिक किड्नी डिजिज
अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।’
डा. बरालले मृगौला रोगीको
उपचारका क्रममा बटुलेको अनुभव सुनाए, ‘जन्मजात
हुने समस्या, वंशाणुगत रोगको समस्या, मधुमेह, उच्च रक्तचाप, बाथ तथा नसाका रोगहरू, मुटु, फोक्सो कलेजोमा हुने विभिन्न रोगहरूका कारण पनि मृगौलामा समस्या आउँछ ।’ शरीरको सञ्चालन प्रक्रिया मृगौलाबिना सम्भव नै नहुने भएकाले समस्या
देखिनासाथ उपचार खोजिहाल्नुपर्छ । मृगौलाले काम गर्न नसकेको अवस्थामा चाहिँ
मेसिनको सहायतामा मृगौलाको काम गराउने पद्धति डाइलासिस वा मृगौलाको प्रत्यारोपणको
विकल्प रहन्न । नेपालमा सामान्यतया मृगौला प्रत्यारोपणका लागि साढे तीन लाखदेखि
पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । तर, प्रत्यारोपणका
लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपणअघिको
डायलासिस गर्न सामान्य नेपालीको कमाइले धान्न सक्दैन । मृगौला प्रत्यारोपण पहिलो
पटक सन् १९५४ मा अमेरिकाको बोस्टनमा दुई जुम्ल्याहा दाजुभाइमा गरिएको थियो ।
त्यसको ५४ वर्षपछि अर्थात् सन् २००८ मा मात्रै नेपालमा यो सेवा सुरु गरिएको हो ।
मृगौला फेल हुने कारण
– वंशाणुगत
– मधुमेह
– उच्च रक्तचाप
– पिसाब सम्बन्धी समस्या
– पाठेघर खस्नु
– मृगौलामा पत्थरी, ट्युमर
– प्रोस्टेटको आकारमा बृद्धि
– जन्मजात पिसाब नलीमा खराबी
– रगतमा दूषित पदार्थको प्रवाह
– लामो समय पेनकिलरको प्रयोग
– शरीरमा पानीको कमी
मृगौला फेलका लक्षणहरू
– शरीर दुब्लाउँदै जाने
– शरीरका विभिन्न अङ्ग सुन्निने
– पिसाब कम हुने र पोल्ने
– पिसाबमा रगत देखिने
– क्षणक्षणमा पिसाब भइरहने
– थोरै हिँड्दा पनि थकाइ लाग्ने
– सास फेर्न गाह्रो हुने
– कोखा दुख्ने, ज्वरो आउने
– खानामा रुचि घट्ने
– पिँडौलाको मासु फर्किने
– वाकवाकी लाग्ने
– छाला सुख्खा हुने र चिलाउने
– उच्च रक्तचाप हुने
– रगतको मात्रा कम हुँदै जाने
– महिनावारी समयमा नहुने
– यौन रुचि घट्दै जाने
– प्रजनन दरमा कमी आउने
– ढाड र कम्मर दुख्ने





0 comments
Write Down Your Responses