• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, Latest Updates, News » कस्तो जिन्दगी ? एक बर्षदेखी एक मानशिक रोगीको हातमा हतकडी
कस्तो जिन्दगी ? एक बर्षदेखी एक मानशिक रोगीको हातमा हतकडी

पुस १७, महोत्तरी, महोत्तरीको बिजलपुरा गाविस–१ जुडीका ३३ वर्षीय बलिराम सिंहको हातमा करिब एक वर्षदेखि हतकडी लगाएको पाइन्छ । मानसिक सन्तुलन गुमाएका बलिराम सिंहलाई उनकै परिवारले हातमा हतकडी लगाएर घरमा राखेका छन् । करिब १० वर्षदेखि मानसिक रोगबाट पीडित रहेका महतोले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लाठीले टाउको फुटाइदिएपछि उनका घरपरिवारले उनलाई हातमा हतकडी लगाइदिएका हुन् । 

दुई वर्षअघि रु ११ लाख पर्ने एक बिगाहा खेत बेचेर उनका बुबाको उपचार गराएको पारिवारिक स्रोतले जनाएको छ । बलिरामको कुटाइले मगजमा गम्भीर चोट लागेर गम्भीर घाइते भएका उनका बुबा खेहरु अहिलेसम्म पूर्णरुपमा ठीक हुन सकेका छैनन् । सिंहले बुबालाई कुट्दा उपचारमा खर्चिएको रु तीन लाख अझै पनि कर्जा रहेको छ । बलिरामको उपचारमा पनि झन्डै रु १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधि खान नमान्दा उनी निको हुन नसकेको भागकुमारीले दुःखेसो पोखिन् । 

तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवारलाई समस्या भइरहेको छ । छिनछिनमा रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुङ्गा फाल्नेजस्ता कार्यबाट घरपरिवारका सदस्य आजित भइसकेका छन् । रातभर जहाँतहीँ हिँड्नेलगायतका कार्यले घरपरिवारका मान्छेहरु पनि मानसिक दबाबमा रहेका छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । माघको कठ्याङ्ग्रिदो जाडो होस् या वैशाखको गर्मीमा शरीरबाट चिटचिट निस्किने पसिना जुनसुकै समयमा पनि उनको शरीरमा एउटा गन्जीभन्दा अन्य लुगा लगाएको पाइएको छैन । हातमा हतकडी रहेकाले उनको शरीरमा गन्जी लगाउन घरपरिवारलाई समस्या हुने गरेको पारिवारिक स्रोतले जनाएको छ । रासस

Labels: Articles, Latest Updates, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State