• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, English, Latest Updates, Photo, Tourism » रामबाबु गुरुङ : एउटा नयाँ सम्भावना
रामबाबु गुरुङ : एउटा नयाँ सम्भावना

पुस १८, काठमाडौं, मेरो लागि फिल्म आफ्नो कुरा भन्ने माध्यम हो । फिल्म निर्माण एउटा प्रविधि हो र मेरा लागि त व्यवसाय पनि हो । सँगसँगै यो एउटा महत्त्वपूर्ण कला हो । यसरी हेर्दा फिल्म मेरो लागि कला, पेसा, पैसा र आफ्नो मनको कुरा पोख्ने आफूलाई व्यक्त गर्ने ठाउँ हो । यस अर्थमा मेरो लागि फिल्म सबै हो ।’ ३४ वर्षे तन्नेरी निर्देशक रामबाबु गुरुङको सिनेमासम्बन्धी धारणा सोध्दा उनले दिएको जवाफ हो माथिको भनाइ । रामबाबुको पहिलो फिल्म थियो, ‘अनागरिक’, जसमा दयाहांग राईले पहिलोचोटि सिनेमामा अभिनय गरेका थिए । रामबाबुले फिल्म बनाउन वर्कसप र ट्रेनिङ गर्दै गर्दा ‘अनागरिक’ बनाएका थिए । 

फिल्म बनाउन सिक्दै गर्दा बनाएको ‘अनागरिक’ ले रामबाबुलाई फिल्म बनाउने आँट र आत्मविश्वास बढाउन मद्दत गर्‍यो । त्यसपछि उनले बनाए ब्लक लिभ । त्यसपछि बन्यो ‘कबड्डी’ । ‘कबड्डी’ ले नेपाली सिनेमाप्रेमी र नेपाली युवा दर्शकहरूलाई मजाले तान्यो र उनको फिल्म हिट भयो । ‘कबड्डी’ ले नाममात्रै दिएन अर्को सिनेमा बनाउन मजाले दाम पनि जुटाइदियो । नेपाली सिनेमाले लगानीसमेत उठाउन नसकेर भटाभट डुबिरहेको अवस्थामा राम्रो र मौलिक स्वादको सिनेमा बनाएर नाम र दाम दुवै पाइन्छ भन्ने कुराको सन्देश पनि ‘कबड्डी’ ले दियो । मुस्ताङको सौन्दर्य, त्यहाँको मौलिक जीवनशैली, नयाँ भाकामा भनेको कथा, पात्रहरूको जीवन्त अभिनय र निर्देशकको विशिष्ट प्रस्तुतिले ‘कबड्डी’ लाई आफ्नै स्वादको फिल्म बनाएको थियो । 

‘कबड्डी’ को प्रदर्शनपछि ओखलढुंगाको रुम्जाटारमा जन्मेको गुरुङ ठिटोमाथि नेपाली सिनेमा क्षेत्रको आशालाग्दो नजर पर्‍यो । व्यावसायिक रूपमा बनाएको आफ्नो पहिलो फिल्म नै चर्चित, प्रशंसित र व्यावसायिक रूपमा सफल भएपछि स्वभावत: रामबाबु गुरुङ दंग त पर्ने नै भए । सँगसँगै उनीमाथि एउटा मनोवैज्ञानिक दबाब पनि थपियो । प्रशंसा र सफलताले एकातिर आँट, आत्मविश्वास, उत्साह र जाँगर थप्छ भने अर्काेतर्फ अनेकौं प्रकारका दबाबहरू पनि लिएर आउँछ । मान्छेलाई एकपल्टको सफलताले पुग्दैन । ऊ प्रत्येकपल्ट सफल हुन चाहन्छ । ऊ एकपल्टको जितले अघाउँदैन घरीघरी जितिरहन चाहन्छ । सम्भवत: यो हामी सबैमा पाइने र चाहिने मानवीय स्वभाव हो । ‘कबड्डी’ ले नेपाली सिनेमाको भलो चिताउने र नेपाली सिनेमा अन्यत्रको नक्कल नभएर हाम्रै जीवन र जगत्को सक्कल बनोस् भन्ने चाहना राख्नेहरूलाई उत्साहित बनाएको थियो र मौलिक शैली लिएर आएको एउटा उदीयमान र प्रतिभाशाली निर्देशकका रूपमा रामबाबु गुरुङको सम्भावनालाई संकेत गरेको थियो । 

रामबाबुलाई ‘कबड्डी’ हेरेपछि मैले सोधेको थिएँ, ‘यसपछि के बनाउने हो ?’ त्यसबेला उनले भनेका थिए, ‘पहिला यो फिल्मको बारेमा सबैतिरको राय प्रतिक्रिया सुनौं ।’ त्यसको केही महिनापछि भेटमा मैले फेरि सोधेको थिएँ, ‘के गर्दै हुनुहुन्छ’ ? उनको जवाफ थियो, ‘कबड्डीको दोस्रो भागको तयारी गर्दैछौं ।’ अहिले त कबड्डीको दोस्रो भाग अर्थात् सिक्वेल ‘कबड्डी कबड्डी’ आएर हलहरूबाट उत्रिई पनि सक्यो । र, उनको यो फिल्मले पहिलो फिल्मको व्यापारलाई समेत धेरैपछि पार्दै पाँच करोड जतिको व्यापार गर्‍यो । तन्नेरी पुस्ताले लाइन लागेर टिकट काट्दै यो फिल्म हेरे । केही हल मालिक र पुरानो सोच बोकेका फिल्म निर्माताहरूको सिन्डिकेटले असहयोग नगरेको भए ‘कबड्डी कबड्डी’ ले अझ बढी कमाइ गर्न सक्थ्यो । नेपाली माटोको सुगन्ध र नेपाली जीवनका कथाहरूलाई मौलिक शैलीमा नेपाली पाराले बनाउने हो भने नेपाली नयाँ पुस्ताले पनि मन पराउँछ भन्ने तथ्यलाई ‘कबड्डी कबड्डी’ ले स्थापित गरेको छ । 


थुप्रैले ‘कबड्डी कबड्डी’ आफूले हेरेपछि परिवार र साथीभाइहरूसँग गएर दोहोर्‍याएर समेत हेरेका छन् । पहिलो भाग अर्थात् ‘कबड्डी’ मा खेलेका प्रमुख र थुप्रै कलाकारहरू दोस्रो भाग अर्थात् ‘कबड्डी कबड्डी’ मा दोहोरिएका छन् । यो स्वाभाविक पनि छ किनभने पहिलो जहाँ टुंगिएको थियो दोस्रो भागले त्यहींबाट आफ्नो कथा अघि बढाउँछ । दोस्रो भाग अर्थात् ‘कबड्डी कबड्डी’ मा दुई केन्द्रीय पात्रको रूपमा देखापरेका दायहांग राई र सौगात मल्लबीचको व्यक्तित्वको टक्कर र एकले अर्कोलाई जित्नैपर्ने स्वभावले फिल्मलाई रोचक बनाएको छ । यसको श्रेय जान्छ पटकथाकार (स्क्रिप्ट राइटर) समेत रहेका रामबाबु गुरुङलाई । ‘कबड्डी’ को पहिलो र दोस्रो दुवैको पटकथा लेखनमा सामेल रामबाबुलाई मैले सोधेको थिएँ, ‘फिल्म निर्माणका लागि सबभन्दा निर्णायक र महत्त्वपूर्ण आधार केले बनाउँछ ?’ ‘स्क्रिप्टले,’ उनको जवाफ थियो, ‘नेपाली फिल्मको मुख्य कमजोरी भनेकै स्क्रिप्ट लेखन हो । 

स्क्रिप्ट राम्रो मौलिक र सिलसिलाबद्ध भएन भने निर्देशक र कलाकारले पनि धेरै गर्न सक्दैनन् । त्यसैले फिल्म कस्तो बन्छ भन्ने कुराको आरम्भ नै स्क्रिप्टबाट हुन्छ र यो अत्यन्त महत्त्वपूर्ण र निर्णायक भाग हो भन्ने मलाई लाग्छ ।’ ‘नेपाली फिल्मले आफ्नो शैली र विशिष्टता निर्माण गर्न सकेको छैन । फिल्म राम्रो नबनेकाले गर्दा नै दर्शकहरू हलमा फिल्म हेर्न नआएका हुन् । हामीले दर्शकहरू फिल्म हेर्न आएनन् भनेर गाली गर्नुभन्दा उनीहरू टिकट काटेर हेर्न आउने फिल्म बनाउन सक्नुपर्छ । यसका लागि नेपाली फिल्मले आफ्नै शैली र कथावस्तु निर्माण गर्न सक्नुपर्छ । नेपाली फिल्म निर्माताहरूले राम्रो फिल्म बनाए भने दर्शकहरू हलमा हेर्न आउँछन् भन्ने मलाई लाग्छ ।’ यसो भनिरहँदा रामबाबुमा आत्मविश्वास र आशा पनि देखिन्थ्यो । सानैदेखि फिल्म हेर्न रमाइलो माने पनि फिल्ममा रुचि भए पनि फिल्मी क्षेत्रमा आउने सोच थिएन रामबाबु गुरुङमा । अरू कतिपय छिमेकी गुरुङहरूको जस्तै र आफ्नो वरपरको वातावरणले समेत लाहुरे बन्न दबाब दिने परिवेशमा हुर्केका रामबाबुलाई पनि किशोरावस्थामा भर्तीमा जाने मन थियो । 

तर, २०५४ सालमा क्याम्पस पढ्न भनेर काठमाडौं आएर रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना भएपछि लाहुने बन्ने विचार छुट्यो । र, उनी लागे अनेरास्ववियुको विद्यार्थी राजनीतितिर । उनको दाजु गाउँकै जल्दाबल्दा वामपन्थी कार्यकर्ता थिए । सानैमा उनले पढे माक्र्सको जीवनी । माक्र्स गज्जबका हिरो लागे रामबाबुलाई । उनको युवा मनलाई माक्र्सको जीवनीले प्रभावित गर्‍यो । दाजुको प्रभाव र गाउँमा पढेका वामपन्थी पुस्तकहरूले उनलाई कलेज जीवनमा राजनीतिमा सक्रिय हुन प्रेरित गर्‍यो । उनी साहित्य, संगीत र संस्कृतिका विभिन्न विधामा रुचि राख्ने वामपन्थी विद्यार्थी नेताहरूको संगतमा पर्दै गए । र, स्वयं आफैंले पनि ती क्षेत्रमा गहिरो रुचि राख्न थाले । 

रत्नराज्यलक्ष्मी क्याम्पस पढ्ने क्रममा उनले तीन वर्ष राजनीति गरेर बिताए । र, सामाजिक प्रतिबद्धता, संस्कृति, साहित्यतर्फको रुचि र ज्ञान, विषयलाई आलोचनात्मक रूपले हेर्ने दृष्टिकोण आर्जन गर्दै गए । विद्यार्थी जीवनको समाप्तिसँगै उनले राजनीतिक सक्रियता पनि छोडे । र, आफ्नो रुचिको क्षेत्रमा हामफाल्न सिनेमातिर लागे । राजनीतिबारे सोध्दा उनी भन्छन्, ‘अब त राजनीतिमा चासो मात्र छ र नागरिकहरूले चासो राख्नु पनि पर्छ । राजनीति बिग्रँदा धेरैथोक बिग्रिन्छ, मुलुकै बिग्रन्छ । तर, म फिल्म क्षेत्रमा लागेपछि राजनीतिमा सक्रिय छैन । म फिल्म क्षेत्रमै पूरा समय लगाउन चाहन्छु ।’ विद्यार्थीकालको राजनीतिक सक्रियताले सचेतना, तीक्ष्ण दृष्टिकोण र आलोचनात्मक चेतना दिएको छ रामबाबुलाई र त्यसको प्रभाव उनको फिल्ममा पनि भेटाइन्छ । त्यसैले सिनेमाबारे छलफल गर्दा उनी आफ्नो राय प्रस्ट रूपमा भन्छन्, लुकाउँदैनन्, ‘फिल्मले पाठ नै पढाउनुपर्छ भन्ने मलाई लाग्दैन । 

सिनेमा कला हो तर कला मात्रै पनि होइन । कलासहितको मनोरञ्जन, दृष्टिकोणसहितको मनोरञ्जनको साधन पनि हो फिल्म । हो फिल्मले केही न सन्देश भने दिन सक्नुपर्छ । मलाई फिल्म निर्माणमा त्यसैले कन्टेन्ट मुख्य र महत्त्वपूर्ण लाग्छ । कन्टेन्टलाई धान्ने र बोक्ने भनेको स्क्रिप्टले हो । त्यसैले मेरो ध्यान कन्टेन्ट र स्क्रिप्टमा हुन्छ ।’ आफ्नो फिल्म निर्माणको शैली र कार्यपद्धतिबारे चर्चा गर्दै उनी भन्छन्, ‘म स्क्रिप्ट लेख्दा वा त्यसबारे सोच्दा सकेसम्म सम्बन्धित ठाउँमै पुग्न चाहन्छु, ताकि त्यसले यथार्थ र स्थानीय विशेषता फिल्ममा आउन सकोस् ।’ रामबाबुले बनाएका र हिट भएका ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ मा रंगमञ्चका कलाकारहरूको बाहुल्य छ । यसो हेर्दा उनको संगत फिल्मी क्षेत्रका मान्छेहरूसँग भन्दा रंगमञ्चका मान्छेहरूसँग बढी देखिन्छ । कलाकारहरूबारे सोध्दा उनले लिने नामहरूमा धेरै नाम थिएटरकै कलाकारहरूको हुन्छ । ‘दया राम्रो सम्भावना भएको कलाकार हो र सौगातमा पनि सम्भावना र क्षमता छ । त्यस्तै खगेन्द्र लामिछाने, आशान्त शर्मा, प्रवीण खतिवडा, राजकुमार पुडासैनी, मेनुका प्रधान र अरुणा कार्की पनि सम्भावना र समर्पण भएका कलाकार लाग्छन् मलाई । त्यसो त अरू पनि छन्... ।’ 

रामबाबुले भनेका यी सबै नामहरू रंगमञ्चसँग जोडिएका छन् र नाटकमा गरेको अभिनयका कारणले प्रशंसित छन् । कतिपय नेपाली फिल्म समीक्षक र अलि प्रबुद्ध दर्शकहरू त पहिलो फिल्म ‘कबड्डी’ जति मौलिक र अर्गानिक थियो, दोस्रो ‘कबड्डी कबड्डी’ मा त अर्गानिक स्वाद र मौलिकता कम भएको गुनासो गर्छन् । तपाईं आफैंलाई चाहिँ के लाग्छ ? मैले यो प्रश्न सोध्दा रामबाबु मसँग सहमत भएनन् । उनको जवाफ थियो, ‘हैन दाइ पहिलोभन्दा दोस्रो कबड्डी कबड्डी नै राम्रो हो । कथा भन्ने शैली अर्थात् स्टोरी टेलिङ, सेटिङ, डिजाइनको दृष्टिबाट मात्रै हैन निर्देशकका हैसियतमा समेत म दोस्रो फिल्मबाट बढी सन्तुष्ट छु । निर्माण र व्यावसायिकताको पक्षबाट हेर्दा पनि दोस्रो फिल्ममा परिपक्वता बढी छ जस्तो लाग्छ ।’ देशबाहिरका निर्देशकमा को मन पर्छ ? ‘झांग यी मोउ, च्यांग काइ चे, वंग कर वाई, क्लिन्ट इस्टहुड, श्याम बेनेगल, अनुराग कश्यप आदि...’ उनको उत्तर थियो । कुनचाहिँ हिन्दी सिनेमा मन पर्छ ? ‘थुप्रै छन् तर सिनेमा मेकिङको दृष्टिबाट सञ्जयलीला भन्सालीको देवदास पनि मलाई मन पर्‍यो ।’ ‘सन्देश दिने दृष्टिकोण, अभिनय र सिनेमा निर्माणकै शैलीमा हेर्दा पनि देवदासभन्दा ब्ल्याक राम्रो होइन र ?’ मैले सोधें । 

‘ब्ल्याक पनि राम्रो हो तर मलाई देवदास मन पर्‍यो ।’ संक्षिप्त उत्तर थियो उनको । देवदास पटक पटक बनेको छ, पुरानो देवदास चाहिँ हेरेको छ कि छैन ? ‘छैन ।’ ‘पुरानो देवदास पनि कम छैन । खोजेर हेरे भयो नि,’ भनें मैले । रामबाबुको टिममा दयाहांग राई, निश्चल बस्नेत र उपेन्द्र सुब्बालगायत रंगमञ्चमा आबद्ध युवाहरूको एउटा नयाँ टिम बनेको छ । साहित्य र रंगमञ्चसँग आबद्ध र रंगकर्मीहरूको बाहुल्य रहेको यो समूह अरूसँग पनि मिलेर काम गर्न चाहन्छ या आफ्नै निर्माण र समूहमा मात्र लाग्छ ? मैले यो जिज्ञासाको उत्तर खोज्दा रामबाबुको जवाफ थियो, ‘विचार, सोच र समझदारी मिल्यो भने त अरूसँग पनि काम गर्न सकिन्छ । तर, त्यस्तो अवस्थामा पनि मेरो जोड आफ्नो स्क्रिप्ट र मौलिकतामा रहनेछ । यस्तो अवस्था भयो भने अरूसँग पनि मिलेर काम गर्न सकिन्छ ।’ नयाँ फिल्म निर्माताहरू सल्लाहका लागि थुप्रै आउँछन् र आइरहेका छन् तर रामबाबुको कुरो मिलिसकेको भने पाइएन र उनी आफ्नो पाँचौं सिनेमा बनाउने रूपरेखा कोर्न थालिसकेका छन् । उनको आगामी फिल्मको लोकेसन र कथावस्तु पोखराको फेवाताल र डुंगासँग जोडिने सम्भावना छ । 


व्यावसायिक रूपमा दुइटा सफल फिल्म निर्देशक र अझ पछिल्लो फिल्म ‘कबड्डी कबड्डी’ बाट सुपरहिट निर्देशक साबित भएका रामबाबुमाथि अर्को फिल्म पनि व्यावसायिक रूपमा सफल बनाउने दबाब त होला नै तर नेपाली सिनेमाका दर्शकले उनबाट चाहेको व्यावसायिक रूपमा सफल हुने सिनेमा मात्र होइन । ओस्कार अवार्ड पाउने सिनेमा बनाउन प्रशस्त बजेट चाहिन्छ भन्ने छैन । एकेडेमी अवार्डमा प्रस्तावित हुन पनि बजेट निर्णायक हुँदैन । कान्स फिल्म समारोह वा संसारका विभिन्न फिल्म समारोहमा प्रतिस्पर्धा गर्न स्तरीय मौलिक र राम्रा फिल्म बनाउन सक्नुपर्छ । हाम्रा सिनेमा निर्देशकहरूले अन्तर्राष्ट्रिय फिल्म समारोहमा प्रतिस्पर्धा गर्ने मात्र हैन जित्ने आँट र अठोट पनि गर्नुपर्छ । नुमाफुंग बनाएर मौलिक नेपाली सिनेमाको एउटा धाराको सुरुवात गरेका थिए नवीन सुब्बाले । तर तयसपछि उनी हराएझैं भएका छन् । त्यो मौलिकताको धारलाई ‘कबड्डी’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘कबड्डी कबड्डी’ मार्फत अगाडि बढाउने प्रयत्न भएको छ नयाँ पुस्ता मार्फत । केही गरी तपाईंका नयाँ फिल्म चलेनन् र निर्देशकका रूपमा काम नपाइने अवस्था भयो भनेचाहिँ के गर्ने विचार छ ? ठट्यौलो पारामा मैले यो प्रश्न सोध्दा रामबाबुले भने, ‘यो क्षेत्रमा असफल भएँ वा सन्तुष्ट हुन सकिनँ भने गाउँ नै फर्किन्छु खेती गर्न ।’ 

सम्भवत: रामबाबुले खेती गर्न गाउँ फर्किनु पर्दैन । नेपाली फिल्म क्षेत्रमा एउटा सम्भावना क्षमता र नयाँ दृष्टिकोण र शैली बोकेको निर्देशकका रूपमा उनले आफूलाई उभ्याउन सफल भएका छन् । राम्रो खेती त नेपाली सिनेमाकै खेतमा गर्न बाँकी छ । राम्रो सिनेमा मौलिक सिनेमा र दर्शकलाई बोर नलाग्ने सिनेमा बनाउने हो भने दर्शकको कमी हुँदैन भन्ने सन्देश त नयाँ र तन्नेरी निर्देशकहरूले दिइसकेका छन् । तर, हाम्रा तन्नेरी निर्देशकले समकालीन विश्व सिनेमा जगत्, नयाँ नयाँ प्रविधिको ज्ञान लिनु जति जरुरी छ त्यति नै जरुरी छ बदलिँदो नेपाली समाज, बदलिँदो नेपाली मनस्थिति, नेपाली इतिहास, भूगोल र संस्कृतिलाई बुझ्नु पनि । नयाँ पुस्ताले अध्ययन, अनुसन्धान, अनुभव र अनुभूतिका साथै अभिव्यक्तिका समेत नयाँ नयाँ शैली प्रस्तुत गर्नु जरुरी छ नेपाली जनतालाई नेपाली सिनेमाको दर्शक बनाउन ।

आजको कान्तिपुर दैनिकबाट 

Labels: Articles, English, Latest Updates, Photo, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State