बम, बारुद, गोलाबारी भएन, सुनसान र शान्त: यसैले आज विश्वको ध्यान खिचिरहेको छ सिरियाले
फागुन १५, काठमाडौं । शनिबार सुनसान बनेको छ–सिरिया । ठूल्ठूला आवाजहरु सुनिएका छैनन् । शुक्रबार राति १० बजेदेखि बम र गोली पड्केका आवाजहरु सुनिएका छैन ।
देशवासीलाई मात्रै होइन विश्वको ध्यान खिचेको छ । सधैं बम र बारुदमा मानव श्वास लिइरहेका क्रुर खबर बाहिरिने सिरियाबाट शुक्रबार मध्य रातदेखि अहिलेसम्म शान्तिका खबर सम्प्रेशण भइरहेका छन् ।
तथापी केही साना घटना भएको भनिएपनि त्यसमाथि अनुसन्धान भइरहेको बताइएको छ ।
लाखौं विस्थापित भएका सिरियाली आफ्नो मुलुकमा शान्ति कायम भए शरणार्थी जीवन त्याग्ने विश्वासका साथ बाह्य मुलुकबाट आफ्नो मातृभूमि नियाली रहेका छन् । पाँच वर्षदेखि गृहयुद्ध चलेको सिरियामा शुक्रबार राति १० बजेबाट युद्धविराम लागू भएको बिबिसिले जनाएको छ । संयुक्त राज्य अमेरिका र रुसको विशेष पहलमा भएको युद्ध विराम लागू भएपछि अहिले विश्वभरको ध्यान सिरियाले खिचिरहेको छ ।
जति विश्वको ध्यान खिचेको छ त्यसको सयौं गुणा आफ्नै भूमिमा खुशीको सञ्चार गराई रहेको छ सिरियाले । युद्ध विराम लागू भएपश्चात आएको सुरुवाती रिपोर्टमा प्रमुख क्षेत्रमा गोलाबारी बन्द भएको छ ।
सिरियाका संयुक्त राष्ट्र संघीय विशेष दूत स्टेफेन डे मिस्टूराले लडाई बन्द भएको छ तर युद्ध विरामको उल्लङ्घनको एउटा घटनामाथि अनुसन्धान भइरहेको बताएका छन् । युद्ध विराम लागू हुनु केही घण्टा अघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाली सरकार र उसको मित्र रुसलाई चेतावनी दिँदै भनेका थिए–संसारको नजर तिमीहरुप्रति रहनेछ ।
यसअघि आएका खबरमा शुक्रबार बिहानै देखि रुसले सिरियाली विद्रोहीमाथि हवाइ आक्रमण व्यापक रुपमा गरेको थियो ।
सिरियामा अनुगमन गरिरहेको मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फोर ह्युमन राइटस्का अनुसार युद्ध विराम पश्चात उत्तरी शहर एलेप्पोमा केही गोलाबारीको आवाज सुनिएपनि देशका अन्य भागमा बन्दूक शान्त छन् ।
राष्ट्र संघीय विशेष दूत मिस्टूराले सबै कुरा ठिक भए ७ मार्चबाट शान्ति वार्ता सुरु हुने सुरक्षा परिषद्लाई जानकारी गराएका छन् ।
सुरक्षा परिषद्ले सिरियामा युद्धविरामका लागि अमेरिका र रुसले गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको छ ।
सन् २०११ मार्च देखि सुरु भएको गृहयुद्धका कारण सिरियामा करिब तीन लाखले ज्यान गुमाएका छन् भने बाह्य र आन्तरिक शरणार्थीको संख्या करिब एक करोड रहेको बताइन्छ । सिरियालीहरुको बाध्यात्मक विस्थापित लहरले युरोप र अमेरिका लगायत मुलुकमा शरणार्थी समस्या टाउको दुखाइको विषय बनेको थियो ।
मेडिया एनपीबाट


0 comments
Write Down Your Responses