• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Entertainment » कस्तो छ कलाकारहरुको तिज तयारी
कस्तो छ कलाकारहरुको तिज तयारी

काठमाडौं- नेपाली मनोरञ्जन क्षेत्रको गतिविधि कम भईरहेको मौका छोपेर कलाकारहरू नेपाली महिलाहरूको पर्व तिज मनाउन व्यस्त हुदैंछन्। तिज अघि आफन्त जमघट गरेर दर खान कार्यक्रममा सहभागी हुन् कलाकारहरूलाई भ्याईनभ्याइ भएको छ।गतवर्षबाट फिल्ममा पुनरागमन जनाएकी अभिनेत्री संञ्चिता लुइँटेलको दर खाने कार्यक्रम सुरू भएको करिव १० दिन भईसकेको छ। रहरैरहरमा १९ वर्षको उमेरबाट तीजको व्रत बस्न थालेकी अभिनेत्री लुइँटेलले भोको पेट व्रत नबस्ने बताइन। 'दिनभर भोको पेट व्रत बसियो भने झन मोटाइन्छ। त्यसैले गुलियो खानेकुराहरू दुध,जुस र फलफुल खाइन्छ। नुनिलो खानेकुरा खादिन्।'
तिजमा आफन्तसँग भेटघाट हुने भएकाले उनका लागि तिज विशेष हुन्छ। 'पूजा र पारिवारिक जमघटले गर्दा तिज रमाइलो हुन्छ। भूकम्पपछि मानिसहरूमा चाडपर्व मनाउने उत्साह हराएको छ। यस्तो अवस्थामा मिलेर रमाइलो गर्न पनि जरुरी छ भन्ने लागेर दर खाने कार्यक्रमहरूमा सहभागि भईरहेकी छु।'
आफन्तहरूसँग मायाको चिनो आदान प्रदान गर्न उनले तीजको किनमेल समेत गरिसकेकी छन्। 'तीजमा प्राय चुरा र टिका दिने उपहार दिने गरेकी छु।' उनले थपिन्।
नेपाली रंगमन्चकी परिचित अनुहार सरिता गिरी पनि मनको सन्तुष्टिको लागि तिजमा व्रत बस्ने गर्छिन्। 'यसलाई फेसनको रूपमा लिइरहेकोले हुँदा विकृति बढेको छ। अहिले त महिलालाई भन्दा पुरूषलाई बढी तीज लागेको भान हुन्छ, ' उनले गुनासो गरिन्। बाल्यकालदेखि तीजमा व्रत बस्दै आएकी सरिताले यसलाई हालसम्म नबिराई निरन्तरता दिईरहेकी छिन्। 'वर्षमा एकदिन आउने महिलाहरूको चाड भएकाले व्रत बस्ने गरेकी छु। भगवानको आशिर्वादभन्दा मनको सन्तुष्टिको लागि व्रत बस्ने गरेकी हुँु।'
परिवारका सबै सदस्य बसेर तिजको अघिल्लो दिन दर खाने चलन उनलाई सबैभन्दा बढी मनपर्छ। 'महिलाहरूको चाडलाइ सही रूपमा मनाउन सके राम्रो हुन्छ।' तीजको किनमेलमा चुरा र कुर्ता उनको पहिलो रोजाई हो।
तिज नजिकिँदै गर्दा अभिनेत्री प्रियंका कार्की भने दुईदिने कार्यक्रमको लागि युएई पुग्दैछिन्। तिजको दिन प्राय कार्यक्रम र सुटिङ पर्ने हुँदा उनले नेपालमै हुँदा पनि तिजको अनुभव मज्जाले लिने अवसर उनले पाइसकेकी छैनन्। 'सानोमा रहर लागेर बस्ने गरेपनि अहिले तीजको व्रत बसेकी छैन्। तर अरुले रमाईलो गरेको देखेर आनन्द लिने गरेकी छु।
।' तिज अघिको दर खाने कार्यक्रममा भने उनी सकेसम्म सहभागी हुने गरेकी छिन्। उनले तिजमा चुरा र टिका भने उपहार लिने गरेकी छिन्। युएईको दुईदिने कार्यक्रममा सहभागि हुन उनी बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेकी छिन्।

केही लोक गायिका भने तिजका अवसरमा विदेशमा हुने कार्यक्रममा विदेश उडिसकेका छन्। गायिका सिन्धु मल्लले जापानमा रहेका नेपालीहरुसँग तिज मनाउने छिन् भने सुनिता दुलालले अमेरिकामा नै तिज मनाईरहेकी छिन्।
त्यस्तै गायिका कोमल ओली तिज मनाउन युरोप हानिएकी छिन्। केहीदिनअघि डेनर्माकबाट सांगीतिक कार्यक्रम सुरु गरेकी उनलाई एनआएनएले तिजको निम्तो दिएको हो। 'यसपटकको युरोप टूरमा विदेशमा रहनुभएका महिला दिदीबहिनीहरुसँग तीज मनाउँदैछु। सांगीतिक कार्यक्रममा मेरा नयाँ पुराना गीतहरु सुनाउनेछु,'उनले भनिन्।
हाल युएईमा रहेकी अभिनेत्री रेखा थापा भने शनिबार राजधानीमा फर्कँदै छिन्। 'घरमा आफन्त र साथीहरु बोलाएर मनाउने गरेकी छु। अहिलेसम्म व्रतचाँहि बसेको छैन्। शनिबार फर्किए लगत्तै आमाले चेलीबेटीलाई बोलाएर दर खुवाउने हुनुभएको छ,'उनले तिजको तयारी सुनाइन्। सामान्य शैलीमा तिज मनाउने हुँदा उनी सबैलाई भडि्कलो तिज नमनाउन आग्रह गछिन्।
पूर्व मिस नेपाल सुगारिका केसीको तिज आम नेपाली नारीहरुको जस्तै हुने गरेको छ। स्कुल पढ्दा रहरै रहरमा व्रत बस्न थालेकी सुगरिका आजभोलि भने नियमित व्रत बस्दै आएकी छिन्। ' म चैं व्रस्त बस्न रहर गर्थे तर घरमा यसले सक्दिन होला भनेर खाना पकाईदिनुहुन्थ्यो। सात कक्षा पढे यता भने विधिपूर्वक व्रत बस्दै आएकी छु, उनले भनिन् ,' तर पानी पनि नखाइकन चैं व्रत बसेको छैन।'
विवाहपश्चात् पारिवारिक जमघटले गर्दा तिज महत्वपूर्ण हुने गरेको उनी बताउँछिन्। 'तिजले पारिवारिक जमघट गराउँछ। विवाहपछि धार्मिक रुपमा समेत यसको महत्व बढेको महसुस गरेकी छु।' उनका परिवारका अधिकांश सदस्यहरु विदेशमा भएकोले तिजमा घरमा भन्दा माइतीमा रमाइलो हुने उनको अनुभव छ। शाकाहारी पूर्व मिस नेपाल केसीको दर कार्यक्रम भने सुरु भइसकेको छ। 'दर खान पुरै व्यस्त छु। अब व्रत बस्ने दिनको प्रतिक्षामा छु।'
सुगरिका झैं केकी अधिकारी पनि तिजको मुख्य दिनको प्रतिक्षामा छिन्। विगत ६ वर्षदेखि नियमित तिजको व्रत बसिरहेकी अभिनेत्री केकी अधिकारी यो पाला पनि सो क्रमलाई निरन्तरता दिने पक्षमा छिन्। '६ वर्षअघि लहलहैमा व्रत बस्दा एकदम ग्राहो भएको थियो। फेरि मेरो करियरको पहिलो म्युजिक भिडियोको सुटिङ परेको हुँदा फलफुल समेत खान पाएकी थिइन्। भोको पेट व्रत बसेको हुँदा फेन्ट भएको थिएँ,'केकीले पहिलो तिज अनुभव सुनाउँदै भनिन्,' वर्षमा एकदिन व्रत बस्नु स्वास्थ्यको लागि समेत राम्रो हो। त्यसमाथि श्रीमानको आयु बोनसमा पाइने प्रसंगले सुनमा सुगन्ध थपेको छ।'
पहिलेको तुलनामा यस वर्ष तिजको चहलपहल शून्य भएको अनुभव उनको छ। 'अहिलेसम्म दर सुरु भएको छैन्। यसअघि दर कार्यक्रममा जान भ्याइनभ्याइ हुन्थ्यो। तर यो पाली कमै निम्ता आएका छन् , केकीले भनिन्। तिजकै लागि भनेर उनले किनमेल पनि गर्ने गरेकी छैनन् । 'मामाघरमा माइजुले उपहार दिने गरेको सामानहरुबाट तिज टर्ने गरेको छ।'
गायिका इन्दिरा जोशीले अहिलेसम्म तीजको व्रत बसेकी छैनन्। उनने विवाह पछि मात्र व्रत बस्न सुरु गर्ने जानकारी गराईन्। 'हाम्रो परिवारमा विवाहअघि तीजको व्रत बस्नै पर्छ भन्ने छैन। विवाहपछि भने पानीसमेत नपिएर व्रत बस्नुपर्छ। विवाहपछि मपनि त्यही गर्नेछु।'
इन्दिरा राजधानी र पोखरामा हुने तिजको कार्यक्रममा सहभागी भएर सामूहिक तजि मनाउने तयारीमा छिन्।
तीजको लागि विशेष किनमेल नगरेपनि उनले आफन्तहरुलाई चुरा र धागो उपहार दिने गरेकी छिन्। 'आफन्तबाट तीजमा उपहारहरु आउने हुँदा मैलेपनि चुरा र धागो दिने गरेकी छु। तिजलाई नै भनेर विशेष किनमेल अहिलेसम्म गरेकी छैन्।

Labels: Entertainment

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State