अख्तियारले पत्र काटेका अनुहार– ४ : सांसद बाबुराम पोखरेलले कहाँ बाटो बिराए ?
काठमाडौं – सांसद एवं शिक्षासेवी बाबुराम पोखरेलको जीवनशैली सात्त्विक र सादा छ, कुनै तडकभडक देखाउँदैनन् । नजिकबाट जान्ने–सुन्नेका अनुसार मधुमेहका बिरामी भएकाले पनि उनको खानपिन सात्त्विक छ, साईबाबाका भक्त उनी मंगलबार र बिहीबार शाकाहारी भोजन गर्छन्, ध्यान र योगमा पनि रुचि राख्छन् ।
विनायक निकेतन (भिएस) स्कुलका प्रिन्सिपल पोखरेल गणेशका पनि पक्का भक्त लाग्छन् । उनको स्कुलमा जताततै गणेशकै मूर्ति र तस्बिर देख्न सकिन्छ । राजनीतिक रूपमा भने उनले बिपी कोइराला र मदन भण्डारीलाई आदर्श मान्ने गरेको उनीनिकटहरु बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पनि अकुत सम्पत्ति थुपारेको आशंकामा सोधपुछका लागि पत्र काटेको छ । यतिबेला अख्तियारले प्याब्सनको अध्यक्षसमेत भइसकेका सांसद पोखरेलको बैंक लकर बन्द गराएर छानबिनको दायरामा ल्याएपछि शिक्षा क्षेत्र नै तरंगित भएको छ ।
को हुन् पोखरेल ?
बाबुरामको जन्म १० कात्तिक २०११ मा भएको हो, गोरखाको अमराई छोप्राकमा । बाबुराम घनश्याम पोखरेल र मायादेवीका जेठा छोरा हुन् । उनका मावली हजुरबुबा जगन्नाथ देवकोटा प्रख्यात पण्डित थिए । हजुरबुवाको मान्यता ‘नातिलाई पढाएमा स्वर्ग तरिन्छ’ भन्ने रहेको उनीनिकट स्रोत बताउँछ । हजुरबुबाकै पहलमा मावली लिगलिग बोहरा गाउँमा बसेर कखरा सिकेका पोखरेलले युनाइटेड ‘मिसन टु नेपाल’ नामक मिसिनरी स्कुलबाट अध्ययन सुरु गरेका हुन् । सानैदेखि पढाइमा तेज पोखरेल विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि अगाडि नै रहेको उनका सहपाठी अहिले पनि चर्चा गर्छन् । उनलाई नजिकबाट जान्ने एक दौँतरीका अनुसार स्कुल पढ्दा उनले ‘भानुभक्त’ नाटकमा आदिकवि भानुभक्त आचार्यको अभिनय पनि गरेका थिए ।
यो पनि पढ्नुहोस्
अख्तियारले पत्र काटेका अनुहार– १ : को हुन् राजेन्द्र पाण्डे ?
०२८ सालमा एसएलसी पास भएपछि उनी काठमाडौं आए । तिनताक उनका मीतबुवा फत्तबहादुर गुरुङ काठमाडौं ठमेलमा रहेको भारतीय सैनिक छात्रवासका सुपरिटेन्डेन्ट थिए । त्यही छात्रवासमा मीत बुबासँग बसेर उनले आइएस्सी, आइएड, बिएड, बिएल, एमए, एमपिए पास गरेको उनीनिकटहरु बताउँछन् । केही वर्षअघि मात्र उनले ‘म्यान पावर प्लानिङ इन डेभलेपमेन्टिङ कन्ट्रिज विद स्पेसल रिफरेन्स’मा विद्यावारिधि गरेका हुन् । नजिकबाट चिन्नेहरुका अनुसार सानैदेखि डा. पोखरेलको सपना शिक्षक बन्ने थियो । त्यसैले उनले ललितपुर गोदावरीस्थित आदर्श विद्यालयबाट शिक्षण पेसा सुरु गरे । पछि ०३८ फागुन १८ गते गुणस्तरीय शिक्षाको उद्देश्यले उनले विनायक सुधा निकेतन (भिएस निकेतन) स्कुलको स्थापना गरे । सुरु गर्दा कक्षा २ सम्म मात्रै थियो भने एक सय ४७ विद्यार्थी र सात शिक्षक थिए । यसरी सुुरु गरिएको भिएस निकेतन अहिले भिएस निकेतन फाउन्डेसनमै परिणत भएको छ । यहाँ अहिले दुई सय ५० भन्दा बढी शिक्षक–शिक्षिका र चार हजारभन्दा बढी विद्यार्थी छन् । यो २५ वर्षको दौरानमा स्कुलले एसएलसीमा बोर्ड प्रथम, तेस्रो र सातौं स्थान ल्याइसकेको छ । पोखरेल अहिले भिएस निकेतनका साथै ग्लोरियस इंग्लिस स्कुल र शंकर इन्टरनेसनल स्कुल पनि चलाइरहेका छन् ।
भावुक हृदयका पोखरेल लेखक पनि हुन् र उनले विद्यालयस्तरका केही अंग्रेजी पाठ्यपुस्तक, कविता र कथासंग्रह प्रकाशन गरेका छन् । उनी आफ्ना विद्यार्थीलाई बारम्बार यी हरफ सुनाउने गर्छन्–
‘जीवन पनि मुक्तक हो,
यसमा पनि चार हरफ नै कोरिएको हुन्छ
पहिलो र अन्तिम हरफ जीवन र मृत्युको दोसाँधमा हुन्छ भने
बीचका बाँकी दुई हरफहरूमा
कोही ज्युँदै मरिरहेका हुन्छन् त
कोही मरेर पनि बाँचिरहेका हुन्छन् ।’
यो पनि पढ्नुहोस्
अख्तियारले पत्र काटेका अनुहार– २ : महरालाई किन डाक्यो अख्तियारले ?
राजकुलो मिचेर स्कुल
सात्त्विक जीवनशैली बिताउने गणेशभक्त पोखरेलको आर्थिक पाटो भने सदा विवादमा आइरह्यो । बाबुरामलाई करोडौंको सरकारी जग्गा मिचेर व्यवसाय चलाएको आरोप लाग्दै आएको थियो । शान्तिनगरस्थित भिएस निकेतन स्कुलले वागमती किनारमा पर्ने चार रोपनी एक आना सरकारी जग्गामा आठवटा टहरा बनाएको बताइन्छ । पोखरेलले मापदण्ड मिचेर सरकारी जग्गामा स्कुल खोल्न काठमाडौं महानगरपालिकाका अधिकारीसँग पनि मिलेमतो गरेको महानगरपालिकाकै कर्मचारी स्रोत बताउँछ ।
बाबुरामले जग्गा मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको थियो । अख्तियारले ०६४ असार ३ गते उक्त जग्गा ६० दिनभित्र सरकारका नाममा दर्ता गर्न भूमिसुधार मन्त्रालयलाई निर्देशन पनि दिएको थियो ।
अख्तियारले महानगरपालिकालाई पत्र लेख्दै दुई महिनाभित्रै स्कुलका भवन भत्काउन आदेशसमेत दिएको थियो । तर, पोखरेलले अख्तियारको आदेश नमान्नका निम्ति स्थानीय ६० वर्षीया विष्णुदेवी राजभण्डारी र ८७ वर्षीया जगतकुमारी राजभण्डारीलाई उचालेको स्रोत बताउँछ । उनीहरूले जग्गा आफ्नो नाममा भएको भन्दै विशेष अदालतमा उजुरी पनि दिए । यो खासमा पोखरेलकै जग्गा हडप्ने षड्यन्त्रकै अर्को सिलसिला भएको अख्तियार सूत्र बताउँछ ।
यो पनि पढ्नुहोस्
भिआइपीलाई पत्र काटेपछि लोकमानले भने, ‘सम्पतिको स्रोत मागेर हामीले के अपराध गर्यौं ?’
विशेष अदालतले ०६६ वैशाख ३ गते ती दुई महिलाकै पक्षमा फैसला गर्यो । तैपनि अख्तियारले हार खाएन । विशेषको फैसला त्रुटिपूर्ण भएको भन्दै अख्तियारले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्यो । पोखरेलले त्यो जग्गा आफ्नो नाममा पार्न अदालतको पेसी सार्ने प्रपञ्च मिलाउँदै आएको अख्तियार स्रोत बताउँछ ।
काठमाडौं महानगरपालिका वडा ३४ को कित्ता नम्बर १०७ मा पर्ने उक्त जग्गा वागमती नदीको क्षेत्रभित्र पर्छ । यही कारण वागमती क्षेत्र निर्माण ढल सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिले त्यो जग्गा रोक्का गरेको छ । राजकुलो समेत भएको उक्त जग्गामा कसैको नाम नभएको भन्दै मालपोत कार्यालय डिल्लीबजारले ०६२ सालमा समितिलाई पत्र समेत लेखेको थियो । समितिले उक्त जग्गामा कुनै घर–टहरा बनाउन समेत रोक गरेको थियो । पोखरेलले यी सबै नियम मिचेर त्यहाँ टहरा बनाएका छन् ।
अहिले अख्तियारले ती सबै पुराना फाइल झिकाइसकेको छ । जग्गा अतिक्रमणको मुद्दामा पनि पोखरेलमाथि कारबाही हुने प्रबल सम्भावना रहेको अख्तियार सूत्र बताउँछ ।
प्रहरीको जग्गा पनि
यति मात्र होइन, पोखरेलले प्रहरी वृत्त नयाँ बानेश्वरको जग्गा पनि कब्जा गरेको देखिन्छ । उनले तत्कालीन प्रहरी नायब उपरीक्षक गोरखसिंह भण्डारीलाई मोटो रकम बुझाइ झन्डै ७–८ आना जग्गा आफ्नो कम्पाउन्डमा छिराउन सफल भएको प्रहरी स्रोतले नै बतायो । नापी नक्साको ब्ल्यु प्रिन्टको सिट नम्बर १०२–११८७–०२ मा उक्त जग्गाको अवस्था प्रस्टैसँग देख्न सकिन्छ । यो जग्गाको अहिले आनाकै ५० लाख रुपैयाँभन्दा बढी पर्छ । यसरी प्रहरीको जग्गा हडपेपछि बाबुरामले जनताको आँखामा छारो हाल्न प्रहरीको पार्किङ टहरो बनाउन जस्तापाता र केही रकम निर्माण खर्च उपलब्ध गराएको स्थानीयवासी बताउँछन् । ‘हामीले समेत चालै नपाउने गरी बाबुरामले प्रहरीको जग्गा आफ्नो कम्पाउन्डमा पारे,’ एक स्थानीय भन्छन्, ‘यसमा ठूलै रकमको चलखेल भएको हुनुपर्छ । यसको विरोधमा अब स्थानीय जनता नै लाग्नुपर्ने भएको छ ।’
यो पनि पढ्नुहोस्
अख्तियारसँग एमाले–एमाओवादी आक्रमक, काँग्रेस मौन
सभासद हुन डेढ करोड ?
पोखरेलमाथि दोस्रो संविधानसभामा सभासद् बन्न पैसा खर्च गरेको आरोप पनि लाग्दै आएको छ । बाबुराम मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकबाट सभासद् भएका हुन् । लोकतान्त्रिक फोरमका एक नेताका अनुसार पोखरेलले सभासद् हुन एकैपटक डेढ करोड रुपैयाँ पार्टी अध्यक्ष विजय गच्छदारलाई बुझाएको आरोप बताए । ती नेताले भने, ‘पार्टीलाई योगदान गर्दै आएका धेरै नेता थिए । तिनको नाम काटेर यिनलाई सभासद् बनाउन पैसाकै खेल छ । यो कुरालाई पनि अख्तियारले खोज्नुपर्छ ।’
यो पनि पढ्नुहोस्
अख्तियारले पत्र काटेका अनुहार– ३ : कहाँ भेटायो अख्तियारले सभासद् गीता राणाको गल्ती ?
अख्तियारलाई सघाउँछु : पोखरेल
आफूमाथि अख्तियारले थालेको कारबाहीप्रति सभासद् पोखरेलको भने खासै नकारात्मक प्रतिक्रिया जनाएका छैनन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘मेरा सारा हर हिसाब दुरुस्त छन् । आर्थिक कारोबार पारदर्शी र क्लिअर छ । अख्तियारलाई क्लिअरेन्स दिन म तयार छु । आफू कतै नचुकेका कारण अख्तियारले पत्र काट्यो भन्दैमा आत्तिने र विरोध गर्ने काम मबाट हुँदैन ।’
उनले सबै कागजात बुझाएर, सोधेको जवाफ दिएर अख्तियारलाई सहयोग गर्ने बताए । उनले भने, ‘नबिराउनू, नडराउनू । पत्र काट्यो भन्दैमा म आत्तिएको छैन । मबाट बरु अख्तियारलाई सहयोग नै हुनेछ र सबैले सहयोग गर्नुपर्छ ।’
अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्व मन्त्रीसहित २९ जना व्यक्तिमाथि छानविन शुरु गरेको छ । अख्तियारको यो कदममाथि राजनीतिक बहस पनि शुरु भएको छ । अख्तियारले प्रमाण भएको दाबी गरको छ भने राजनीतिक व्यक्तिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले प्रतिषोध साँधेको आरोप लगाएका छन् । अख्तियारको छानविनमा परेका नेता दोषी वा निर्दोष डिस्कवरी न्युज नेटवर्क यसको पुष्टि गर्दैन तर नेता, पूर्व प्रशासक र बहालवाला अधिकारीको विगत र वर्तमान देखाउने कोशिस गर्दछ ।



0 comments
Write Down Your Responses