• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
BreakingNews, Entertainment, News, Tourism » विदेश जाने सुझाव त्यागेर गरेको ८ हजारको लगानी ५० लाख पुग्यो, आम्दानी त करोड
विदेश जाने सुझाव त्यागेर गरेको ८ हजारको लगानी ५० लाख पुग्यो, आम्दानी त करोड

मोहन पौडेल/उज्यालो । चितवन, मंसिर २७ - चितवनको भरतपुर १७ की नमिता दवाडी बाहुन कै छोरी अनि बाहुनकै बुहारी । तर उहाँको घरमा अहिले बंगुरका पाठापाठी हुर्किंदैछन । बाहुनले सुंगुर बंगुर पाल्नु त के छुन पनि हुँदैन भन्ने मान्यता बोकेको समाजकै बिच हुर्किएकी नमिता, समाजको हेराई भन्दा पनि कामलाई ठूलो मानेर सुरु गरेको व्यवसायले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । तर बंगुर पालन सुरु गर्दा उहाँका लागि सानो चुनौती थिएन । ‘बाहुन भएर पनि बंगुर पाल्ने’ गाउँले भनेका कुरा नमिताको मनमा अहिले पनि आइरहन्छ । धेरैले विदेश जान सुझाव दिएपनि विदेश जानुभन्दा त बंगुरपालन नै ठिक भन्ने ठानेर व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ । 
‘सुरुमा गर्ने बेलामा त गलत नै गर्दैछु कि जस्तो पनि लागेको थियो’ नमिता भन्नुहुन्छ ‘तर सासु आमाले आँट दिएपछि सुरु गरें ।’ कसैले प्रश्न गरे भने दिने जवाफ पनि नमितासँग तयार थियो । ‘चोरेर खाएको होइन पाखुरा बजाएर खान योे पाल्न हुने त्यो पाल्न नहुने पनि हुन्छ र ?’ समाजलाई दिने उत्तर सुनाउँदै नमिताले भन्नुभयो । 
२०५८ सालमा कुखुरा पालनबाट सुरु गरेको व्यवसायले घाटा भएपछि उहाँलाई के गरौं कसो गरौं भएको थियो । आफन्त र गाउँलेले विदेश जान सुझाएका पनि हुन् । तर उहाँले हरेस खानु भएन र कुखुरा पालनको व्यवसाय फेरेर ८ हजारको लगानीमा ३ वटा बंगुरबाट उहाँले बंगुर पाल्न सुरु गर्नुभयो । बंगुर फार्ममा अहिले १ सय ३० वटा बंगुर छन् । २० वर्षअघि आफ्नो अंश वापत पाएको ८ कठ्ठा जग्गामा सुरु गरेको व्यवसाय फस्टाएर अहिले उहाँले १० कठ्ठा जग्गा जोड्न सक्नुभएको छ । 

बंगुरसँगै माछा पनि पाल्दा दोब्बर फाइदा

बंगुरसँगै उहाँले अहिले माछा पनि पाल्न थाल्नुभएको छ । उहाँका ७ वटा पोखरीमा ५० हजार माछाका भुरा पौडिरहेका छन् । माछा र बंगुरका एक महिनामा झण्डै डेढ लाख रुपैयाँ खर्च हुन्छ र अर्को महिनाबाट कमाई सुरु हुन्छ । बंगुरका पाठा एक महिनामै बेच्न सकिने भएकाले आम्दानी महिना दिनबाटै सुरु हुने भएको हो ।
‘अहिलेसम्म बंगुर र माछामा गरेको लगानी झण्डै ५० लाख रुपैयाँ पुग्यो’ आम्दानी कस्तो छ भनेर सोध्दा उहाँ भन्नुहुन्छ ‘कमाईले करोड नाघ्यो ।’। माछाको बजारका लागि त्यत्ती समस्या नभए पनि बंगुर धेरै हुर्किएकाले समस्या हुने हो कि भनेर उहाँ अहिले फ्रेस हाउस खोल्ने योजनामा पनि हुनुहुन्छ ।  पैसा कमाउनै भनेर कोही धेरै नै लगानी गरेर राम्रै देश गए अनि कोही थोरै पैसा लाग्ने खाडीका देश गए तर उहाँलाई भने बिदेश जाने चाहना कहिल्यै जागेन । ‘अर्काको देशमा रुखमा पैसा टिप्ने होईन क्यारे’ नमिता भन्नुहुन्छ ‘परिश्रम नगरी त कहाँ पो हुन्छ र ?’ 
विदेश जाँदा खर्च गरिने लाखौं रुपैयाँ यहीँ लगानी गर्न सके नेपालमै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ । बुंगुर र माछाको दानापानी र हेरचाहका लागि श्रीमान श्रीमतीको खटाई नै काफी छ । तर पनि कहिले काहिँ विरामी भइहाल्दाका लागि भनेर २ जना सहयोगी पनि राखेको उहाँले बताउनुभयो । 

अनुदान पाएको १ लाखले हौसला बढ्यो

आँट मात्रै होइन सबै आफनै पैसा लगाएर बंगुर पाल्न थालेकी नमिता गएको असारमा कृषि विकास कार्यालयबाट १ लाख रुपैयाँ अनुदान  पनि पाउनुभयो । अनुदान पाएपछि त झन उहाँलाई अझ यो व्यवसायलाई बिस्तार गर्ने हौसला मिलेको छ । ‘बिदेश गएको भए मलाई कतिले पो चिन्थे होलान’ नेपाल बंगुर व्यावसायी संघको चितवनको उपाध्यक्ष रहेकी नमिताले भन्नुभयो ‘अहिले त मेरो व्यवसाय हेर्न बिभिन्न जिल्लाबाट आउँछन, अनि म पनि अन्त जाने अवसर पाएको छु, यसले मलाई आत्मासन्तुष्टि मिलेको छ ।’
दुई जना छोराछोरीलाई बोर्डिङ पढाएकी नमितालाई घरको २ तला थप्न पनि यसैको कमाईले पुगेको छ । ‘सुरुमै  बाहुनका छोराबुहारीले बंगुर पाल्दा के भन्लान भनेर हच्किएको भए यत्रो प्रगति कहाँ गर्न सकिन्थ्यो र ? नमिता प्रश्न गर्नुहुन्छ ।

Labels: BreakingNews, Entertainment, News, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State