• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Entertainment, international news, InterViews, News » कारबाही डरले थर थर काप्यो - बैठकमै गएनन्
कारबाही डरले थर थर काप्यो - बैठकमै गएनन्

काठमाडौं— पछिल्लो समय पेट्रोलियम पदार्थको आयात र वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सञ्चालक समिति बैठकमा गएनन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बिहीबार बैठक बोलाएको थियो । समितिले कारबाही गर्ने सम्भावना देखेपछि खड्का बैठकमा नआई दिउँसोदेखि नै सम्पर्कमा नरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। समितिले अघिल्लो शुक्रबार 'भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात र बिक्रीवितरणमा भइरहेको अनियमितता, कालोबजारीलगायत कार्यकारी निर्देशक खड्काको संलग्नताबारे' स्पष्टीकरण सोधेको थियो।

खड्काले पठाएको जवाफ चित्तबुझ्दो नदेखिएको र थप जानकारी लिनुपर्ने देखिएपछि बिहीबार बैठक डाकिएको थियो। खड्काले पठाएको जवाफमा धेरै सत्यता नदेखिएपछि समितिले बैठकको मिति तोकेको थियो तर खड्का आफू कारबाहीमा पर्ने थाहा पाएपछि समितिले बोलाएको बैठक बहिस्कार गरेको स्रोतको दाबी छ।


मन्त्रालय स्रोतका अनुसार खड्काले पठाएको जवाफबाट समिति सन्तुष्ट थिएन । त्यसैले थप छलफल गर्ने भन्दै बिहीबार ५ बजे समितिको बैठक डाकिएको थियो । 'समितिमा चित्तबुझ्दो जवाफ नआएपछि खड्कालाई मन्त्रालय तान्ने आन्तरिक सहमति भएको थियो, 'आफू मन्त्रालय तानिन लागेको थाहा पाएपछि खड्का समितिको बैठकमा अनुपस्थित भएका हुन् ।'


वाणिज्य विभागका महानिर्देशक, नापतौल तथा गुणस्तर विभागका महानिर्देशक, मन्त्रालयका सहसचिव सम्मिलित समितिले बोलाएको बैठकमा भने उनी उपस्थित भएका थिए । तर, निगमकै कार्यकारी निर्देशक खड्का नै समितिले बोलाएको बैठकलाई बेवास्ता गरेपछि बिहीबारको बैठक स्थगित भएको छ ।


समितिले खड्का उपस्थित नहुने थाहा पाएपछि निगमका कम्पनी सचिवलाई समेत फोन गरेको थियो । समितिबाट निगममा फोन गर्दा 'कम्पनी सचिवले निर्णय पुस्तिकासमेत नरहेको र खड्का पनि कार्यालयमा नभएको जनाउ दिएपछि' बैठक रोकिएको स्रोत बताउँछ ।


'कार्यकारी निर्देशकलाई एक घन्टासम्म कुर्याैं,' समितिका एक सदस्यले नागरिकसँग भने, 'उनी नआउने थाहा पाएपछि भोलि बस्ने गरी बैठक सारेका छौं ।' खड्काको अनियमितता छोप्न उनी बैठकमा नआएको सदस्यको आरोप छ ।


'आफ्नो गल्ती नभएको भए समितिले बोलाएको बैठकमा किन नआएको त ?' एक सदस्यले भने, 'उनी बैठकमा नआउनुले खड्कामाथि थप प्रश्न खडा गरेको छ ।' खड्काले इन्धन आपूर्ति गर्ने नाममा विभिन्न निजी कम्पनीलाई आफूखुसी करोडौं रुपैयाँ वितरण गरेका थिए । खड्काकै ठाडो आदेशमा 'पेट्रोलिम्याक्स' नामक निजी कम्पनीलाई हवाई इन्धन आपूर्तिका लागि प्रतीतपत्र (एलसी) खोल्न भन्दै पर्फमेन्स ग्यारेन्टीबापत लिनुपर्ने रकमसमेत नमागी नियमविपरीत ५० करोड रुपैयाँ भुक्तानी दिइएको थियो ।


त्यसअघि उनले विराट पेट्रोलियमलाई पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिएका थिए । पछिल्लोपटक रकम दिइएको पेट्रोलिम्याक्सले अहिलेसम्म इन्धन आपूर्ति गरेको छैन ।


छिटपुट रूपमा भारतबाट आयात भइरहेको इन्धन पनि सर्वसाधारणले सहज रूपमा पाएका छैनन् । पेट्रोलपम्पबाट वितरण हुनुपर्ने इन्धन विभिन्न व्यक्ति र गिरोहले चर्को मूल्यमा बाहिर विभिन्न स्थानबाट बेचिरहेका छन् । पम्पहरू तेल नपाएर बन्द छन् तर भएको तेल बाहिर कालोबजारी भइरहेको छ । ग्यासको अवस्था पनि त्यस्तै छ । डिपोहरूमा ग्यास छैन तर बाहिर दस गुणा बढी मूल्यमा बिक्री भइरहेको छ ।


निगमका कार्यकारी निर्देशक खड्का कारबाहीमा पर्ने थाहा पाएपछि बैठकमै नगई भागेको स्रोत बताउँछ । 'निर्णय पुस्तिका लिएर मन्त्रालय आउनुपर्ने खड्का कता गए अत्तोपत्तो छैन,' स्रोतले भन्यो, 'सचिव अध्यक्ष हुने बैठकमा बोलाउँदासमेत नआउनु गम्भीर कुरा हो ।'


स्रोतका अनुसार खड्काले लिखित स्पष्टीकरण बुझाएको तीन दिन बितिसकेको छ । यत्रो दिनसम्म उक्त लिखित पत्रमाथि समितिले केही गर्न नसकेको भन्ने गुनासोसमेत बढेको एक सदस्यले बताए । कार्यकारी निर्देशक बैठकमा उपस्थित नहुँदा बाध्य भएर बैठक स्थगित गर्नुपरेको स्रोतले जनायो ।

Labels: Entertainment, international news, InterViews, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State