• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
» अध्यान भन्दा ठुलो ग्यास- पढाइ छाडेर ग्यासको लाइन
अध्यान भन्दा ठुलो ग्यास- पढाइ छाडेर ग्यासको लाइन

नेपालगन्ज- मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत रमितकुमार मल्लको दैनिकी अहिले क्याम्पसमा होइन, ग्यासको लाइनमा बितिरहेको छ। शुक्रबार साँझबाट लाइन बसेका उनले ग्यास पाउने टुंगो भने छैन। उच्च शिक्षाका लागि सुर्खेत झरेका कालिकोटका मल्लजस्ता थुप्रै विद्यार्थी रातभरि लाइन बसे। 'हल्लै–हल्लामा शुक्रबार साँझबाट लाइन बसेको छु,' उनले भने, 'न त घरबेटीले दाउरा बाल्न दिन्छन्, न ग्यास आउँछ।' दुई महिनायता ग्यास नपाएर समस्या परेको उनले बताए।
एक तथ्यांकअनुसार वीरेन्द्रनगरका स्कुल तथा क्याम्पसमा अध्ययनरत झन्डै सात हजार विद्यार्थी भाडामा बस्दै आएका छन्। भाडाको बाससँगै उनीहरू ग्यास अभावको नयाँ चुनौती सामना गरिरहेका छन्।

विश्वविद्यालयमै अध्ययनरत जाजरकोटका राजकुमार परियार पनि हल्लै–हल्लामा रातभरि लाइनकम रहे। 'रातदिन लाइनमै बित्यो,' निराश हुँदै उनले भने, 'ड्राइफुड कति खानु, नखाऊँ त कोठामा ग्यास छैन।' कोठा जान पनि समस्या भइरहेको भन्दै उनले बिहानी कक्षामा समेत सहभागी हुन नसकेको बताए। आपूर्ति समितिले पेट्रोल–डिजलमा जस्तै ग्यासको पनि वितरण तालिका लागू गर्नुपर्ने उनको माग छ।

जन उच्च माविमा अध्ययनरत कृष्ण चौलागाईंको कोठामा पनि ग्यास सकिएको दुई साता भयो। उनले दाउरामा पकाउँदै आएका छन्। 'दाउरा पनि काँचो छ, औद्योगिक क्षेत्रमा भनेजति दाउरा पाइँदैन,' उनले भने, 'हामी विद्यार्थीको समस्या कसले सुनिदिने?'

कृष्णले दाउरा बाल्ने अवसर पाए पनि अधिकांश विद्यार्थी त्यसबाट समेत वञ्चित छन्। घरबेटीले दाउरा बाल्न नदिँदा भाडामा बस्दाको पीडा असह्य भइरहेको परियारले बताए।

ग्यास सकिएपछि होटलको भर पर्नुपर्दा विपन्न विद्यार्थीको थाप्लोमा महँगी थपिएको छ। सुर्खेतका मल्लले एक महिनादेखि होटलमा खादा खाँदै आएको बताए। 'अब त होटल पनि बन्द होलाजस्तो छ,' उनले भने, 'त्यसपछि कहाँ गएर खाना खाने?'

दाङ, घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत घनश्याम केसी पनि सातायता होटलमा खाना खाइरहेका छन्। 'प्रतिछाक ९० रुपैयाँ तिरेर होटलमा खाना खाइरहेको छु,' उनले भने, 'दिनहुँ घोराहीस्थित डिलर धाउँदा पनि ग्यास पाइएको छैन।'

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State