• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Politics » दाङमा ड्युटी गरे बापत प्रहरीलाई ग्यास
दाङमा ड्युटी गरे बापत प्रहरीलाई ग्यास

दाङ— दुई सातापछि बिहीबार दाङमा तीन ट्रक एलपी ग्यास भित्रियो। ग्यास आउने हल्लाले बुधबार दिउँसोबाटै यहाँका डिलरमा उपभोक्ताको लाइन लाग्यो। लाइनमै रात काटेका उपभोक्तामध्ये केहीले मात्रै ग्यास पाए। रातभर लाइन बस्दा पनि बिक्रेताले ग्यास 'अपुग' भन्दै फर्काएपछि धेरैजसो उपभोक्ता निराश भए। 'प्रहरी प्रशासनलाई खुसी नपारी किन ग्यास दिन्थे ?' गौरीशंकर सप्लायर्समा रातभर लाइन बसेकी एक वृद्धाले ग्यास नपाएपछि दुखेसो पोखिन्। उक्त सप्लायर्समा दुई सयभन्दा बढी व्यक्ति लाइन बसेका थिए । '८० जनाले मात्रै ग्यास पाए,' घोराहीका प्रभुशंकर घिमिरेले भने, '८० नम्बरभन्दा पछाडिका कसैले पनि पाएनन् ।' उनले यसअघिको लटमा पनि रित्तै फर्कनुपरेको दुखेसो पोखे ।


ग्यास वितरणका बेला ड्युटीमा खटिएका प्रहरीले भने ड्युटीबापतको 'ज्याला' स्वरूप ग्यास पाए । 'हामीले ड्युटी गरेका छौँ, हामीलाई पनि ग्यास चाहियो भनेपछि दुई जना प्रहरीलाई ग्यास दिएर पठाएँ,' घोराहीस्थित कृष्ण सप्लायर्सका सञ्चालक कृष्णप्रसाद घिमिरेले भने, 'उहाँहरू लाइन बस्नुभएन, ड्युटी गरेर सहयोग गरेबापत ग्यास दिएको हुँ ।'



उनको सप्लायर्समा बिहीबार बिहान ३ सय ६० सिलिन्डर ग्यास झरेको थियो । लाइनमा बसेकामध्ये २० जना उपभोक्ताले ग्यास पाएनन् । लाइनमा नबसेका दुई प्रहरीले भने ड्युटीको 'ज्याला'स्वरुप एक–एक सिलिन्डर ग्यास पाए । उक्त सप्लायर्सबाट जिल्ला प्रहरी कार्यालयका नाममा थप चार सिलिन्डर ग्यास गयो । बिहीबार मात्रै होइन, रातभर लाइन बस्ने उपभोक्तालाई रित्तै हात फर्काउने अनि प्रहरीलाई लाइनै नबसी डिलरले ग्यास दिने प्रवृत्ति यसअघि पनि दोहोरिँदै आएको छ ।




मंसिर ५ गते घोराहीको गौरीशंकर सप्लायर्समा ८० सिलिन्डर ग्यास आयो । उपभोक्तालाई जम्मा ६० सिलिन्डर मात्रै बाँडियो । बाँकी २० सिलिन्डर प्रशासनका नाममा गयो । त्यस बेला पनि दुई प्रहरीले ड्युटी गरेको भन्दै ग्यास मागेका थिए ।
जिल्लामा भित्रने हरेक कम्पनीको ग्यासमा प्रहरीले आफ्नो हिस्सा खोज्ने गरेको छ । घोराहीस्थित मनकामना ग्यासका एक बिक्रेताले पनि हरेक लटमा ८–१० सिलिन्डर प्रहरी प्रशासनलाई दिनुपरेको बताउँछन् । पेट्रोलियम पदार्थमा प्रशासनको कोटा सिस्टम लागू गरिएको भए पनि ग्यासमा भने कोटा छुट्याइएको छैन । 'प्रशासनको आदेश भनेर ग्यास माग्न आउनेहरूलाई दिन करै लाग्छ,' ती बिक्रेताले भने । तर, ड्युटी गरेकै कारण प्रहरीले ग्यास नपाएको बताए । बिक्रेताका अनुसार प्रशासनका नाममा ग्यास माग्न आउनेहरू अधिक छन् । बिक्रेताले केहीलाई ग्यास दिन्छन् भने केहीलाई फिर्ता पठाउँछन् । 'कोही सादा पोसाकमा आएर प्रशासनलाई ग्यास चाहियो भन्छन् कोही ड्रेसमा हुन्छन्,' एक बिक्रेताले भने, 'को हुन्, को हुन् ? चिन्नै सकिन्न ।'



कात्तिकको अन्तिम साता ग्यास वितरण गर्दा घोराहीको एक डिलरमा सादा पोसाकमा रहेका दुई जनाले प्रशासनलाई ग्यास चाहियो भनी रित्तो सिलिन्डर थमाए । डिलरले पनि उतिखेरै ग्यास दियो । एक सातापछि अर्को लटको ग्यास वितरण हुँदै गर्दा सोही डिलरमा सरकारी नम्बर प्लेटको गाडी रोकियो । जिपमा रहेकाले प्रशासनका नाममा तीन सिलिन्डर माग गरे । तर, डिलरले उपभोक्ताको लाइन देखाउँदै ग्यास दिन नसक्ने जनायो । 'मैले नदिएपछि त्यो टोलीले अर्को डिलरबाट ग्यास लगेको रै'छ,' डिलर सञ्चालकले भने, 'लाइनमा बसेका उपभोक्तालाई नदिएर अरूलाई कसरी ग्यास दिनु ?'

Labels: Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State