भारतसँग १९५० को भन्दा अन्यायपूर्ण सन्धिको सम्भावना छ...
वर्तमान सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाका अनुसार नेपालका दुई भूतपूर्व प्रधानमन्त्रीहरूले जननिर्वाचित संविधानसभाले नयाँ संविधान जारी गर्नु केही समयअघि भारतको भ्रमण गर्नुभयो । पूर्वप्रधानमन्त्रीको भ्रमणका क्रममा सत्तासीन भारतीय जनता पार्टीले उहाँहरूलाई आफ्नो चासोका विषयहरू अवगत गरायो ।
तर, नेपालको नयाँ संविधानले भारतीय सरोकारका विषयहरू सम्बोधन गरेन । अनि भारतले नेपालविरुद्ध नाकाबन्दी गर्यो । हामीलाई थाहा छैन, किन भारतले नेपालविरुद्ध नाकाबन्दी गरिरहेको छ ।
करीब ४५ वर्षमा भारतले नेपालविरुद्ध गरेको यो तेस्रो नाकाबन्दी हो । प्रश्न उठ्छ- यतिका वर्षसम्म हामीलाई चीनतर्फका नाकाहरू सुचारू गर्नबाट केले रोकेको थियो ? सन् १९९० को नाकाबन्दीपछि हामीले यसो गर्न सक्थ्यौँ, तर गरेनौँ ।
अहिलेको नाकाबन्दीको उद्देश्य के हो ? शायद भारत हाम्रो जलस्रोतमाथि अझ बलियो तरिकाले कब्जा जमाउन चाहन्छ । शायद उसले व्यापारका क्षेत्रमा आफ्नो आधिपत्यमा वृद्धि गर्न चाहन्छ । यो नाकाबन्दी तिनै भारतीय स्वार्थहरू पूरा गर्ने एउटा औजार हुन सक्छ ।
हिन्दु राज्य
नयाँ संविधानले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपथ्र्यो । हामीले भारत र चीन दुबैलाई बुझाउन सक्नुपथ्र्यो । हिन्दु राष्ट्र घोषणा गर्नु दुबै छिमेकीको हितमा हुने थियो । छिमेकीहरूले यो कदममा समर्थन जनाउँथे । हिन्दु राष्ट्र घोषणा भएको भए पश्चिमा खेलाडीहरूले खेल्ने ठाउँ पाउने थिएनन् । नेपालको राजनीति स्थिर हुने थियो ।
पाठ सिक्न सकेनौँ
शासकहरूले १९९० को भारतीय नाकाबन्दीबाट पाठहरू सिक्नुपथ्र्यो । यसबीचमा हामीले १० हजार मेगावाट जलविद्युत उत्पादन गरेर ऊर्जामा आत्मनिर्भर भैसकेका हुन्थ्यौँ । भन्सार सहुलियत दिएर विद्युतीय सवारी साधनहरूको आयात प्रवर्द्धन गर्न सक्थ्यौँ ।
पहाड र तराईको सह-अस्तित्व
अहिले त अवस्था कस्तो छ भने तराई पहाडबिना पनि बाँच्न सक्छ, तर, पहाड तराईबिना बाँच्न सक्तैन । अहिले अत्यावश्यक सामानहरूको आपूर्तिका लागि पहाड तराईमा निर्भर छ ।
पहाडमा नदीनालाहरू त छन्, तर तिनको उपयोग गर्नका लागि यथेष्ट मलिला फाँटहरू छैनन् । यसैकारण हामीले पहाडसँग नजोडिएका तराई प्रदेशहरू बन्नुपर्छ भन्ने माग सुनिरहेका छौँ ।
१९५० को भन्दा अन्यायपूर्ण सन्धिको सम्भावना
बाह्रबुँदे सम्झौता सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको स्वाभाविक उपक्रम हो । सन् ५० को सन्धिले त्यो समयको यथार्थ प्रतिविम्वित गरेको हो । परिस्थिति बदलिएको छ । तर दलहरूले सहमतिमार्फत् आन्तरिक समस्याहरू समाधान गर्न सकेनन् भने ५० को भन्दा विभेदपूर्ण सन्धिको सम्भावना छ ।
(अनलाइनखबरका लागि देवेन्द्र गौतमसँग कुराकानीमा आधारित)


0 comments
Write Down Your Responses