• HOME
  • NEWS
  • SHERPA
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • ARTICLE
  • Contact
Articles, BreakingNews, Health, News » किन खाना पाकेपछी मात्र नुन हाल्नु पर्छ ? थाहा पाई राख्नुहोस
किन खाना पाकेपछी मात्र नुन हाल्नु पर्छ ? थाहा पाई राख्नुहोस

माघ १९, काठमाडौं । खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा खानापाकेपछि र खाना खानुअघि मात्र आवश्यक मात्राको नुन प्रयोग गर्न उनीहरुले सल्लाह दिएका छन् । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाद्वारा नुनको महत्वबारे जानकारी दिन आयोजित कार्यक्रममा ढिके तथा खुला नुनको प्रयोग नगर्न सबैसँग आग्रहसमेत गरिएको थियो । ढिके तथा खुला नुनमा आयोडिन केही मात्रामा हुने भए पनि खुला रुपमा राख्दा उडेर जाने हुँदा यस्तो प्रयोग गर्नु हुँदैन । 

दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्नेको सङ्ख्या ८० प्रतिशत रहेको छ । यस्तो चिह्न भएको नुनमा स्वास्थ्य मन्त्रालयको आग्रहमा साल्ट ट्रेडिङ कर्पाेरेसनले नुनको उत्पादन तहमै आयोडिन राख्दैआएको छ । सुदूर पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल तथा हिमाली क्षेत्रमा ढिके तथा खुला नुनको प्रयोग गर्ने प्रचलन रहिआएको छ । मानव शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्वका रुपमा आयोडिनलाई लिइन्छ । बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले मानसिक तथा शारीरिक विकासका लागि अयोडिनयुक्त नुन आवश्यक पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “गर्भवती महिलाले दैनिक रुपमा अयोडिनको सही मात्राको प्रयोग गर्नाले गर्भ तुहिने, मरेको बच्चा जन्मने तथा अन्य समस्या आउँदैन ।” महाशाखाका पोषण विज्ञ गिरीराज सुवेदीका अनुसार नेपालको भौगालिक अवस्थाका कारण यहाँका माटो र पानीमा आयोडिनको अभाव भएकाले खानामा आयोडिन मिसाएको नुन प्रयोग गर्न आवश्यक छ । चिकित्सकले पशुपक्षी, मासु प्रयोग गर्नेलाई पनि यस्तो नुन खुवाउन सल्लाह दिएका छन् । 

दूध दिने गाई, भँैसीलाई आयोडिन नुन खुवाउँदा दूधको मात्रा बढ्ने कार्यक्रममा जानकारी दिइयो । यसैबीच, मन्त्रालयले फेब्रुअरी (माघ÷फागुन) महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । आयोडिनको कमीबाट आइपर्ने स्वास्थ्यसम्बन्धी समस्याका बारेमा जानकारी दिन र आयोडिन नुनको महत्वबारे सुसूचित गर्न आयोडिन महिना मनाउन लागिएको हो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले आयोडिन महत्वबारे समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोषको आग्रहमा मन्त्रालयले सन् २००० देखि फेब्रुअरी महिनालाई आयोडिन नुन महिनाका रुपमा मनाउँदै आएको छ । महिनाभर विशेषगरी दुई बालबालिका चिह्न अङ्कित नुनको उपभोग गर्न समुदायलाई उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।

Labels: Articles, BreakingNews, Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Powered By Blogger
Recent Updates
Current Views

Contributors

  • News
  • Unknown
  • Unknown
Copyright © 2015. All Rights Reserved. Sherpa State